दसैँ-तिहारका लागि सुपथ मूल्य पसल असोज १५ देखि कात्तिक २७ सम्म सञ्चालन हुने
१० असाेज, काठमाडौँ । नेपाल खाद्य संस्थानले चाडपर्वलाई लक्षित गर्दै यही असोज १५ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।यसअघि १२ गतेदेखि सञ्चालन गर्ने भन्दै आएको संस्थानको बुधबार बसेको बैठकले १५ गतेदेखि मात्रै सुपथ मूल्य पसल खुलाउने निर्णय गरेको हो । चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा राहत दिन असोज १५ गतेदेखि कात्तिक २७ गतेसम्म यस्तो पसल सञ्चालन गरिने निर्णय भएको संस्थानका सूचना अधिकारी शंकर सापकोटाले जानकारी दिनुभयो ।
संस्थानले आफ्नो शाखा रामशाहपथ, थापाथली र नख्खुबाट दैनिक उपभोग्य सामग्री बिक्री वितरण गर्ने छ । बुधबार बसेको बैठकले संस्थानले बिक्री गर्ने खाद्यान्नको मूल्य समेत निर्धारण गरेको छ । संस्थानले सोना मन्सुली चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएर ४० रुपैयाँ प्रतिकिलो मूल्य निर्धाण गरेको छ । यस्तै जीरा मसिनो चामलमा पनि प्रतिकिलो ५ रुपैयाँ छुट दिएर ५५ रुपैयाँ, जापानी चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएर ७५ रुपैयाँ ७५ पैसा बनाइएको छ । यस्तै बास्मती चामलमा र गोरखनाथ चामलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर क्रमशः ८१ रुपैयाँ र ३८ रुपैयाँ कायम गरिएको छ । यस्तै संस्थानले जुम्ली सिमी र जुम्ली फापरमा पनि प्रतिकिलो १० रुपैयाँ छुट दिएर क्रमशः १ सय २० रुपैयाँ र ७० रुपैयाँ मूल्य निर्धारण गरेको छ ।
यस्तै साल्ट ट्रेडिङले पनि आफ्ना बस्तुमा छुट दिएको छ । साल्ट ट्रेडिङले नुनमा २ रुपैयाँ छुट गरेर प्रतिकिलो १८ रुपैयाँ, चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिने भएको छ । यस्तै दुग्ध विकास संस्थानले पनि आफ्ना उत्पादनमा छुट दिने भएको छ । दुग्ध संस्थानबाट उत्पादित घ्यूमा ५० रुपैयाँ छुट दिँदै ८ सय ५० रुपैयाँ प्रतिकिलो मूलय कायम गरिएको छ । यसअघि घ्यूको प्रतिकिलो मूल्य ९ सय रुपैयाँ थियो । यस्तै पनिरमा पनि १० रुपैयाँ छुट दिँदै ६ सय १० रुपैयाँ प्रतिकिलो मूल्य कायम गरिएको छ । बटर, दही, चिज, लस्सी, आइसक्रिमलगायतका उत्पादनमा पनि छुटको व्यवस्था गरिएको संस्थानले जनाएको छ ।
बुधबार बसेको बैठकले सहकारीमार्फत बिक्री वितरण गर्ने भनिए पनि सहकारीको छनौट भने गर्न नसकेको सापकोटाले बताउनुभयो ।काठमाडौँ उपत्यकामा झण्डै १२ सहकारी संस्थालाई संस्थानबाट खाद्यान्न उपलब्ध गराई पसल सञ्चालनको जिम्मा दिइने तयारी भए पनि अझै सम्म छनोट भने भइनसकेको उहाँको भनाई छ । अघिल्लो वर्ष संस्थानले उपत्यकाका आठ ठाउँमा दसैँ, तिहार र छठका लागि सुपथ मूल्य पसल सञ्चालन गरेको थियो ।
प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार १९:१५