१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

महाअभियोग लगाउने तयारीकाे चर्चा भएसँगै दीपकराज जोशी फेरी घरविदामा

१० असोज, काठमाडौं । महाअभियोग लगाउन  नेकपाका सांसदहरुको हस्ताक्षर संकलन भएका बेला सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशी फेरी घरविदामा बसेका छन् । संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि जोशी लामो घरविदामा बसेका थिए ।

शैक्षिक प्रमाणपत्र नक्कली र विवादस्पद फैसलाहरुलाई कारण देखाउँदै जोशीलाई संसदले अस्वीकृत गरेको थियो । उनले राजीनामा नदिए महाअभियोग दर्ता गर्ने भनिएका बेला जोशी शुक्रबारसम्मका लागि विदामा बसेको स्रोतले जनाएको छ । ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्त भएपछि सर्वोच्च फर्किएका जोशीले केही दिन इजलास पाएका थिएनन् । तर कानुनमन्त्री तथा न्यायपरिषद सदस्य भानुभक्त ढकालसँगको गोप्य सहमतिपछि उनलाई इजलास दिइएको स्रोतको दावी छ ।

जोशीले सो गोप्य सहमतिअनुसार राजीनामा नदिएपछि उनीविरुद्ध महाअभियोग लगाउन नेकपाका सांसदहरुको हस्ताक्षर संकलन भइसकेको छ । जोशीले सर्वोच्चमा फर्केर इजलास पाएपछि आफू राजीनामा दिएर बाहिरिने वचन तोडेको दावी सत्तापक्षका नेताहरुको छ ।

प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार १६:५४