१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

नयाँ प्रविधिको विउ आलु भित्र्याइयो


४ माघ, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले नयाँ प्रविधिको विउ आलु भित्र्याएको छ । राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर प्रगतिशिल ताजा तरकारी तथा विउ उत्पादक कृषक समूह मार्फत वडा नम्बर ६ को लाम्पाटा बराहटोलमा सामुहिक पुर्व मुल विउ रोपिएको हो ।

आलुको गुणस्तरीय विउ उत्पादन, उत्पादन क्षमता कम भएको पुरानो विउ विस्थापित र विउ आलुमा आत्मनिर्भर बनाउन पिविएम (पुर्व विउ आलु) कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

बर्षौदेखि एउटै विउको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोगकिराको समस्या देखिएपछि गुणस्तरीय विउ उत्पादन गरेर आलु उत्पादन र गुणस्तर सुधार गर्ने उद्देश्यले राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको पुर्व मुल विउ भित्र्याइएको हो ।

नौ रोपनी क्षेत्रफलमा खुमल सेतो १, खुमल उज्वल, जनकदेव, खुमल रातो र कार्डनल जातको आलुको ५३ हजार २०० दाना रोपिएको छ । अहिले लगाएको विउ पाँच पुस्तापछि खायन (खानका लागि विउ रोप्न) योग्य हुन्छ । हाल यहाँका कृषकले करिब पचास वर्ष पुरानो विउ प्रयोग गर्दै आएका थिए ।

अहिले लगाएको पुर्व विउ आलु उत्पादन भएपछि कृषकहरुबाट गाउँपालिकाले खरिद गरेर चिस्यानगृहमा राख्ने र पहिलो पुस्ताको विउ उत्पादन गर्न कृषकहरुलाई उपलब्ध गराउने जनाएको छ । भाइरस र रोगमुक्त पुर्व विउ आलु रोपिएको छ ।

लुम्ले कृषि अनुसन्धान केन्द्रले धेरै वर्षअघि शालिजामा विउ आलु भित्र्याएको थियो । वल्लो पल्लो गाउँका कृषकले साटेर सोही समयको विउ र बजारबाट खरिद लगेर रोप्ने गरेका छन् ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १३:५५