१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

यति एयरको दुर्घटनाले तंग्रिदै गरेको पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको टानको निष्कर्ष

१ माघ, काठमाडाैँ । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)ले यति एयरको दुर्घटनाले तंग्रिदै गरेको पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको निष्कर्ष निकालेको छ । आइतबार भएको यती एयरको विमान दुर्घटना नेपालको समग्र पर्यटन क्षेत्रकै लागि ठुलो धक्का भएको टानले विज्ञप्ति मार्फत जनाएको छ । टानका महासचिव विनोद सापकोटाले विज्ञप्ति जारी गर्दै कोरोना महामारीबाट भर्खरै तङ्गरिदै गरेको नेपालको पर्यटन क्षेत्रमा यस हवाई दुर्घटनाले अपूरणीय क्षति पुर्‍याएको विज्ञप्तिमा उल्लेख गरेका छन ।

विज्ञप्तिमा भनिएको छ, “कोरोना भाइरसको महामारीबाट भर्खर तंगरिदै गरेको नेपालको पर्यटन क्षेत्रमा यस हवाई दुर्घटनाले अपूरणीय क्षति पुगेको छ । भर्खरै मात्र नयाँ विमानस्थलको निर्माण कार्य सम्पन्न भई उडान शुभारम्भ भएको र पर्यटकीय राजधानीको रुपमा रहेको पोखरामा नै भएको दुर्घटनाले नेपालको हवाई क्षेत्रमा मात्र होइन देशको समग्र पर्यटन क्षेत्रमा नै ठुलो धक्का लागेको छ ।”

त्यसैगरी टानले नेपाली आकाश र नेपालको हवाई क्षेत्र सुरक्षित राख्न राज्यले महत्त्वपूर्ण कदम चाल्ने र आगामी दिनमा यस्ता दुर्घटनालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा राज्यको जिम्मेवार निकायले गम्भीर बन्ने अपेक्षा राखेका छन् ।

टानले दुर्घटनामा परेका यात्रुहरुको उद्धार र राहतमा राज्यका सम्पूर्ण संयन्त्रलाई प्रभावकारी ढङ्गले परिचालन गर्न नेपाल सरकार समक्ष अनुरोध गरेको छ । विमान दुर्घटना भएको खबरले टान परिवारलाई स्तब्ध बनाएको बताउँदै दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृत आत्माको चिर शान्तिको कामनाको साथै शोकाकुल परिवारजन प्रति समवेदना प्रकट गरेका छन् ।

काठमाडौँबाट पोखराको लागि आज बिहान १०ः३२ बजे ६८ यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमानस्थल नजिकै सेती नदीको खाँचमा दुर्घटना भएको थियो ।

प्रकाशित मिति : १ माघ २०७९, आईतवार २०:५९