१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

निर्मला पन्तको हत्याबारेको अनुसन्धान प्रतिवेदन गृहमन्त्रीको हातमा, अब के होला ?

९ असोज, काठमाडौं । कञ्चनपुर भीमदत्तनगरी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले  अाफ्प्रनो तिवेदन बुझाएको छ । गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले सोमबार गृहमन्त्री रामबहादुर थापा बादललाई सिंहदरबारमा प्रतिवेदन बुझाएको हो ।

निर्मलाको बलात्कारपछि हत्या भएको ठ्याक्कै दुर्इ महिनापछि प्रतिवेदनको ठूलो ठेली नै गृहमन्त्रीको हातमा पुगेको छ । निर्मलाको हत्यामा संल्गनलार्इ बचाउन प्रहरीले प्रमाण नष्ट गरेको भन्दै केही प्रहरी अधिकारीलार्इ निलम्बन गरेर कारबाही प्रक्रिया पनि अघि बढेको छ । पूर्ण प्रतिवेदनमा के सिफारिस गरिएको छ र अब सरकारले कस्तो प्रकिया अघि बढाउँछ त्यसका निम्ति धैर्यता अावश्यक रहेको छ ।

अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शङ्कास्पद देखिएको र अनुसन्धान अगाडि नबढेपछि गृह मन्त्रालयले भदौ ७ गते मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले यसअघि भदौ ३० गते गृहमन्त्रीसमक्ष प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । प्रारम्भिक प्रतिवेदनमा प्रहरीको भूमिका कमजोर रहेको भेटिएपछि गृह मन्त्रालयले अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरेको थियो ।

समितिले प्रतिवेदनमा घटनाको वस्तुस्थिति, स्थानीयवासीको भनाइ, प्रहरी अनुसन्धानमा भएका कमीकमजोरीलाई समावेश गरेको छ । प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको कार्यान्वयन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने स्पष्ट पारे ।

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार १३:१९