१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

प्रधानमन्त्रीमा प्रचण्डको तेस्रो कार्यकलाः आफू पनि नराम्रो नगर्ने, अरूलाई पनि गर्न नदिने

२२ पुस, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले यो कार्यकालमा आफू पनि नराम्रो नगर्ने, अरूलाई पनि गर्न नदिने बताएका छन । शनिबार काठमाडौँको महेन्द्र माविमा  एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो तेस्रो कार्यकाललाई चुनौतीपूर्ण अवसरका रूपमा चित्रित गरे । उनले भने, “तेस्रो कार्यकाल मेरा निम्ति चुनौतीपूर्ण अवसर हो, यसलाई हामीले पूराका पूरा सदुपयोग गर्न सक्नुपर्छ, म एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिनेमा सचेत छु, सिङ्गो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ, जनताको त्यो आशालाई सम्बोधन गर्न तपाईं हामी सबै गम्भीर र जिम्मेवार हुनुपर्छ ।”

प्रधानमन्त्री प्रचण्डले पहिलो कार्यकालमा नयाँ नेपालको मार्गचित्र प्रस्तुत गरिएको बताए । उनले भने “पहिलो कार्यकालमा विकास र समृद्धिको विजारोपण गरियो, किसानलगायत जनताको ऋण मिनाहा गर्न, सामाजिक न्याय स्थापित गर्न जोड रह्यो, दोस्रो कार्यकालमा संविधान कार्यान्वयन, आर्थिक समृद्धि, सङ्घीयताको जग बसाल्ने कामका लागि राम्रो पहल गरियो, तेस्रो कार्यकाल त्यसभन्दा नमुना बनाउनुपर्ने छ, त्यसैले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गर्नेछ ।”

प्रकाशित मिति : January 7, 2023 at 1:29 pm