२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

अर्थतन्त्र नियन्त्रण बाहिर छैन, उच्च मनोबलका साथ काम गर्नुस्ः अर्थमन्त्री पौडेल

१२ पुस, काठमाडाैं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग भएको आजको भेटमा उनले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको निजी क्षेत्रले भोगेको समस्याप्रति सरकार संवदेनशील रहेको बताए ।

निजी क्षेत्रका मागप्रति सरकार कति गम्भीर छ भन्ने कुरालाई निजी क्षेत्रको छाता सङ्गठनसँगको भेटलाई दिएको प्राथमिकताले पनि स्पष्ट पार्ने उनले बताए ।

“वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले अर्थतन्त्रलाई सुधार गर्न विभिन्न उपाय अपनाउने निर्णय गरेको छ”, उनले भने, “यो समस्या सम्बोधन गर्न सबैको साझा प्रयास हुनुपर्छ ।”

उनले निजी क्षेत्रलाई उच्च मनोबल बनाएर काम गर्न आग्रह गर्दै सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “निजी क्षेत्रको मनोबल ढल्यो भने अर्थतन्त्र पनि ढल्छ, तपाईंहरूको मनोबललाई उच्च बनाएर काम गर्नुहोस्”, मन्त्री पौडेलले भने, “म तपाईंहरूको प्रतिनिधिका रुपमा समस्या समाधानका लागि काम गर्ने छु ।”

प्रकाशित मिति : December 27, 2022 at 3:37 pm