अब निजी क्षेत्रले अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्न पाउने, मन्त्रिपरिषदबाट कार्यविधि स्वीकृत
६ असोज, काठमाडाैँ । सरकारले निजी क्षेत्रलाई पनि अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्न दिने निर्णय गरेको छ । शुक्रबार राति सम्पन्न मन्त्रिपरिषद्को बैठकले निजी क्षेत्रलाई पनि अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्न दिने सम्बन्धी कार्यविधि स्वीकृत गरेको हो । सरकारका प्रवक्ता समेत रहेकाे सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटका अनुसार कार्यविधिले आन्तरिकरुपमा हवाई सेवा सञ्चालन गरिरहेका सेवा प्रदायकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बजार तथा सेवा विस्तारका लागि मार्ग प्रशस्त गरेको छ ।
यस्तै मन्त्रिपरिपद् बैठकले सङ्घीय पर्यटन ऐन तर्जुमाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । त्यसैगरी नागरिक उड्डयन प्राधिकरण सञ्चालन नियमनसम्बन्धी ऐन तर्जुमा गर्नका लागि पनि सोही मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइएको छ । विद्यमान व्यवस्थाअनुसार प्राधिकरणले विमानस्थलको सञ्चालन तथा नियमको कामसमेत गर्दै आएको छ । नयाँ व्यवस्था लागू भएपछि प्राधिकरणले सञ्चालन र नियमनको काम छुट्टाछुट्टै गर्ने छन् ।
प्रकाशित मिति : ६ आश्विन २०७५, शनिबार ०१:०६