१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

विश्वमा शान्ति र मानवताका लागि परोपकारी सक्रियता अावश्यकः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

५ असोज, काठमाडाैँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विश्वमा शान्ति र मानवताको प्रवद्र्धनका लागि विश्वका समस्त राष्ट्रको नागरिक तहदेखि राजनीतिक नेतृत्वसम्मले सेवामुखी र परोपकारी रुपमा आफूलाई सक्रिय राख्नुपर्ने बताउनुभएको छ ।

दक्षिण कोरियास्थित सँस्था Heavenly Culture, World Peace, Restoration of Light (HWPL) ले इञ्चन शहरमा आयोजना गरेको विश्व शान्ति सम्मेलन –२०१८ (2018 World Peace Summit) को विशेष सत्रमा सम्बोधन गर्दै रेग्मीले शान्तिको आकांक्षालाई परिपूर्ति गर्न र विश्वलाई मानवजातिको शान्तिप्रिय स्थानका रुपमा स्थापना गर्न प्रत्येक मानवले शान्तिको आवश्यकता र भावनालाई स्वाभाविक र स्वतःस्फूर्त रुपमा ग्रहण गर्दै अघि बढ्न सक्नुपर्नेमा विशेष जोड दिनुभयो । साथै, उहाँले सन् २०१४ देखि विश्व शान्तिको लक्ष्यका साथ क्रियाशील आयोजक सँस्था Heavenly Culture, World Peace, Restoration of Light (HWPL) ले विश्व शान्तिका लागि विभिन्न देशका अग्रणी राजनेता, सरकारप्रमुख, न्यायाधीश, कानूनविद्लगायत सामाजिक अभियन्ताहरु तथा महिला र युवाहरुलाई उत्प्रेरित गर्दै विश्वव्यापी सञ्जाल स्थापनाका साथ शान्तिको सम्बाहकको रुपमा गरेको कार्यको प्रशंसा पनि गर्नुभयो ।

शान्तिलाई मानव अधिकारको रुपमा स्थापना गर्न यसलाई अन्तर्राष्ट्रिय कानूनको लिखित दस्तावेज बनाउनुपर्ने आवश्यकतासहित विभिन्न राष्ट्रका पूर्व राष्ट्रप्रमुख तथा पूर्व सरकारप्रमुख एवम् अन्तर्राष्ट्रिय कानूनविद् सम्मिलित सल्लाहकार परिषद्बाट सन् २०१६ मा जारी भएको युद्धको अन्त्य र शान्तिको घोषणा (Declaration of Peace and Cessation of War – DPCW) लाई रेग्मीले समर्थन गर्नुभयो । १० धारा र ३८ उपधारा रहेको युद्धको अन्त्य र शान्तिको घोषणा (Declaration of Peace and Cessation of War – DPCW) ले संयुक्त राष्ट्र संघबाट अन्तर्राष्ट्रिय कानूनको रुपमा मान्यता पाउनेमा विश्वस्त हुँदै अन्तर्राष्ट्रिय कानूनी दस्तावेजका रुपमा उक्त घोषणा शीघ्र जारी र कार्यान्वयन हुन सकोस् भन्ने शुभकामना पनि रेग्मीले दिनुभएको थियो ।

सम्बोधनकै क्रममा आयोजक सँस्थाले आवश्यकता महशुस गरेको कोरियाली प्रायद्वीप (Korean Peninsula) को शान्तिको स्थापनालाई मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले समर्थन गर्दै दक्षिण कोरिया र उत्तर कोरियाको एकीकरण भए विश्वमा शान्ति स्थापनार्थ वर्तमान समयमा सर्वोत्कृष्ट उदाहरण बन्न सक्ने पनि बताउनुभएको थियो । रेग्मीको समर्थन र अभिव्यक्तिमा सहभागी अन्य राष्ट्रका पूर्व सरकारप्रमुखहरुले पनि सहमति जनाउँदै दुवै कोरियाको एकीकरणको कार्यमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

२०७५ आश्विन १ गतेदेखि ३ गतेसम्म दक्षिण कोरियाको राजधानी सोलको सीमावर्ति शहर इञ्चनमा आयोजित विश्व शान्ति सम्मेलनमा पूर्वअध्यक्ष रेग्मीका अतिरिक्त नेपालबाट कानून तथा न्यायको क्षेत्र, सञ्चार, मानवअधिकार, नागरिक समाजलगायत विविध संघ सँस्थाको तर्फबाट विभिन्न व्यक्तिहरुको सहभागिता रहेको र सम्मेलनमा सहभागी भई रेग्मी हिजो राति स्वदेश फर्किनुभएको उहाँका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार १७:५६