५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

सरकारसँग ८ बुँदे सहमति भएपछि यातायात मजदुर काममा फर्किदै

५ असोज, काठमाडाैँ । मुलुकी अपराध संहिताको विरोध गर्दै आन्दोलनमा उत्रिएका यातायात मजदुर र सरकारबीच सहमति भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज भएको वार्तामा ८ बुँदे सहमति भएपछि यातायात मजदुर सवारी चलाउन तयार भएका छन् ।

यातायात मजदुरसँग भएको सहमतिसँगै भोलिबाट सवारी साधन सुचारु हुने भएको छ । आज भएको सहमति अनुसार ट्राफिक संकेत र सडकको नियमित मर्मत गरी भौतिक अवस्था दुरुस्त राख्ने र राजमार्गमा निश्चित दुरीमा ठूला सवारीका लागि व्यवस्थित पार्किङको व्यवस्था गर्ने उल्लेख छ ।

सडक दुर्घटना हुँदा निष्पक्ष छानबिन गरी घटनामा दोषी देखिएका जोसुकैलाई कारवाही गर्ने सुनिश्चित गर्ने, सवारी चालकलाई समय समयमा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेबारे सरकारले सहमति जनाएको छ । सरकारको सो प्रतिवद्धतासहितको सहमतिपछि यातायात मजदुर बन्द फिर्ता लिई सवारी साधन सञ्चालन गर्न सहमत भएका हुन ।

प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार १७:४३