२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

देशभर बढ्यो जाडो , तराई मधेशका जिल्लामा हुस्सु कुहिरो

२५ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम घट्दै जाने भएकाले चिसो थप बढ्ने छ ।

महाशाखाका अनुसार देशका मध्य, मध्यपश्चिम र पूर्वी तराई/मधेशका जिल्लाहरुमा हुस्सु र कुहिरो लाग्न थालेको छ । कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, मोरङ, सुनसरी र झापामा बिहानपख हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरो मध्याह्नसम्ममा भने क्रमिक रुपमा हट्दै जाने गरेको महाशाखाले जनाएको छ ।

हुस्स-कुहिरोसँगै चिसो पनि बढ्दै जाने भएकाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । गत चौबिस घण्टामा काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसमा झरेको छ ।

हाल नेपालमा उल्लेख्य मौसमी प्रणाली भने छैन । त्यसैले देशभरको मौसम सामान्यतया सफा छ । आइतबार र सोमबार देशभरको मौसम सफा रहने छ । मंगलबार भने प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदलीकाे आकलन गरिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार ०९:०५