चिलिमे जलविद्युतले घोषणा गर्याे लाभांश, बाेनस र नगद कति ?
२१ मंसिर, काठमाडाैं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हाे ।
कम्पनीको हिजाे (मंसिर २० गते, मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षकाे मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भए पश्चात वितरण गरिनेछ । लाभांश अनुमोदनका लागि कम्पनीको २६ औँ वार्षिक साधारणसभा पुस २३ गते बाेलाइएकाे छ ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार १०:४४