उरुग्वेलाई २–० गोलले हराउँदै पोर्चुगल नकआउट चरणमा
१३ मंसिर, काठमाडाैँ । पोर्चुगलले उरुग्वेलाई पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । कतारको लुसाइल स्टेडियममा आज बिहान सम्पन्न खेलमा उरुग्वेलाई २–० गोलअन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो । पोर्चुगलले समूह ‘एच’ बाट लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान बनाएको हो ।
पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेसले नायक बने । खेलको ५४औँ मिनेटमा बु्रण्नोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा बु्रनोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २–० को जित दिलाए ।
उरुग्वेका जोसे जिमिनेजले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि भीएआरमा पोर्चुगलले पेनाल्टीको अवसर पाएको थियो । पोर्चुगलले २ खेलमा छ अङ्क जोडेको छ । पराजित उरुग्वेको १ अङ्क छ ।
प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार ०८:०८