२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

देश समुन्नतिको मार्गमा अघि बढ्ने उपराष्ट्रपति पुनको विश्वास

३ असोज, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानले कल्पना गरेको समाजवाद उन्मुख व्यवस्था र नेपाल सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’का नारा पूरा गर्न देश आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नति र समृद्धिको मार्गमा द्रुत गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै समृद्धिको मार्गमा अगाडि बढ्न संविधान दिवसले प्रेरणा प्रदान गर्ने बताउनुभयो ।

सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफैँ जारी गरेको ऐतिहासिक दिनका रुपमा संविधान दिवस रहेको बताउँदै उपराष्ट्रपति पुनले संविधानसभाबाट संविधान जारी गर्ने २००७ सालदेखिको जनआकाङ्क्षा पूरा गर्न विभिन्न कालखण्डमा भएका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्धमा सहादत प्राप्त गर्ने शहीदप्रति श्रद्धाञ्जलि व्यक्तसमेत गर्नुभएको छ ।

उहाँले सन्देशमा भन्नुभएको छ, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत नेपाली जनताले प्राप्त गरेका उपलब्धि संस्थागत भएको स्वर्णिम दिनका अवसरमा सम्पूर्ण नेपालीमा बधाई ज्ञापन गर्दछु ।”

प्रकाशित मिति : 05:58