२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

एमाले सिन्धुः प्राविधिक हिसाबको पराजय भए पनि राजनीतिक रुपमा विजय

११ मंसिर, सिन्धुपाल्चोक । झट्ट हेर्दा सिन्धुपाल्चोकका दुईवटा प्रतिनिधिसभा र चारवटै प्रदेशसभाको चुनावको गठबन्धनका उम्मेदवारले जितेको देखिन्छ । अंकगणितकै हिसाबमा त्यो सत्य पनि हो । तर राजनीतिक हिसाबमा भने यसपालिको चुनावमा यहाँ एमालेले जित हात पारेको छ । त्यसैले भन्ने गरिएको छ– सिन्धुपाल्चोकमा एमालेले जितेर पनि हार्यो वा हारेर पनि जित्यो ।

एकातिर समानुपातिक मतमा सर्वाधिक बढी भोट प्राप्त गरेर जिल्लाकै ठूलो दल बन्न पुग्यो एमाले । अर्कोतिर गत स्थानीय निर्वाचनमा गठबन्धनको करिब ५६ हजार मतविरुद्ध एमालेले पाएको २६ हजार मतले प्रतिस्पार्ध गरेर गठबन्धनलाई आच्छु–आच्छु पार्यो ।

स्थानीय निर्वाचनको मतान्तरलाई बुझेर एमालेका पोलिट्ब्युरो सदस्य अरुण नेपालले प्रतिनिधिसभा–१ मा चुनाव लड्ने आँट गरेनन् । त्यस्तै प्रदेशसभा ‘क’मा पार्टीले टिकट दिएर पनि उठ्न नमानेका जिल्ला अध्यक्ष कमल नेपालको विकल्पमा उभ्याइएका प्रदिप पौड्यालले पनि अन्तिम समयमा आएर चुनाव नलड्ने घोषणा गरे । र उम्मेदवार भए– युद्धविक्रम तामाङ ।

यसरी उम्मेदवार पाउनै मुस्किल भएको परिवेशबीच प्रतिनिधिसभामा उम्मेदवार बनेको सरेश नेपाल र प्रदेशसभाका उम्मेदवारहरुले जुन मत पाए, त्यो सम्मानजनक छ । समानुपातिक मत परिणामअनुसार एमालेले ४३१६३, कांग्रेसले ३५४३०, माओवादी केन्द्रले २९१३८, स्वतन्त्र पार्टीले ९९७४, राप्रपाले ९६६२ र नेकपा एसले १५२२ पाएका छन् । यसले यदि गठबन्धन नभएको स्थितिमा एमालेले प्रत्यक्षतर्फ सबैलाई बढार्ने तागत राख्ने देखियो ।

उम्मेदवार भएका एमालेका केन्द्रीय सदस्य सरेश नेपालले आफ्नो पार्टीको समानुपातिक मत २१,६५१ भन्दा बढी अर्थात २७,०१८ मत प्राप्त गरे । जबकि माओवादी उम्मेदवार माधव सापकोटाले कांग्रेसको १७,२६६, माओवादीको १४,८५८ गरी ३२,१२४ मत पनि पाएनन् । उनले करिब दुई हजार पार्टीकै भोट पाएनन् ।

यसबाट प्रष्ट हुनन्छ कि, नेपालले साँढे पाँचहजारभन्दा बढी लोकप्रिय मत पाए । र गठबन्धनभित्रको अलोकप्रिय उम्मेदवार ठहरिए माधव सापकोटा । अहिले सिन्धुपाल्चोकका सबै तहका नेता, कार्यकर्तासँगै जनताले भन्न थालेका छन् कि, ‘सिंगल सिंगल लडेको भए त एमालेले अरुलाई उठ्नै नसक्ने गरी पछार्ने रहेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार १२:१८