कांग्रेसका प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी
६ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी भएका छन । प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा सिंहले बुबाको राजनीतिक विरासतलाई कायम राख्दै आएका छन । सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।
कांग्रेसको साधारण सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका सिंह नेपाली कांग्रेसको काठमाडौँ जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन ।
सिंहले सात हजार एक सय ४० मत ल्याएर विजयी भए । सिंहका प्रतिस्पर्धी रवीन्द्र मिश्रभन्दा एक सय २९ मतले अगाडि रहँदै विजयी भएका हुन । मिश्रले सात हजार ११ मत प्राप्त गरे । अघिल्लो निर्वाचन २०७४ सालमा पनि सिंहले मिश्रलाई नै पराजित गरेका थिए ।
प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०७:४७












