प्रधानमन्त्रीमा प्रचण्डको पाैडेल कार्ड कांग्रेस फुटाउन कि अर्को हारको चित्त बुझाउन ?
२८ कार्तिक, काठमाडौँ । नेपाली राजनीतिमा क्रामभंगताको नाममा जे पनि गर्ने नेताको उपमा पाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार कांग्रेस नेता रामचन्द्र पौडेलका लागि प्रधानमन्त्रीको त्रुप फ्याँके । कांग्रेसले सत्ता गठबन्धनको बहुमत आउँदा पनि प्रधानमन्त्री दिने कुनै सम्भावना नदेखेपछि प्रचण्ड अत्तालिएका छन । माओवादी घोषणापत्र अनुसार चुनावपछिको सरकारका प्रधानमन्त्रीको मुख्य दाबेदार हुन प्रचण्ड । तर देउवा र उनका विश्वासपात्र अनि भारतीय एजेण्डहरूले खुवाएको प्रधानमन्त्रीको ललिपप मुखमै नपर्ने भएपछि प्रचण्ड त्रसित भएका हुन ।
सत्ताका चतुर खेलाडी देउवाले चुनावपछिको सरकारको प्रधानमन्त्री पाँचै वर्ष आफू रहने भनेर आफ्ना विश्वासपात्रहरू मार्फत बाहिर सार्वजनिक गर्न लगाएपछि प्रचण्ड तनावमा परेका हुन । यहीक्रममा उनले सोमबार तनहुँमै पुगेको समयमा पौडेलका लागि प्रधानमन्त्रीको त्रुप फाले । चुनावपछिको सरकारको प्रधानमन्त्रीको आँंकाक्षी रहेका प्रचण्ड आफैँले पौडेलको नाम सार्वजनिक मञ्चबाटै उच्चारण गरेपछि राजनीतिक बृत्तमा विभिन्न प्रश्नहरू उब्जिएका छन ।
भारतीय जनता पार्टीका महासचिव विजय चौथाइवालेको मध्यस्तकर्तामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका तर्फबाट उनको पत्नि डा आरजु राणा देउवासँग आलोपालो प्रधानमन्त्रीमा सहमति गरेर उत्साहित हुँदै विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सहज हुने प्रावधानसहितको नागरिकता विधेयक फास्ट ट्रयाकबाट अघि बढाउन सहमति जनाएर त्यसको प्रवक्ता बन्दै राष्ट्रपति संस्थासँग खनिएका थिए । सँगै उनले आफैँले राष्ट्रघाती घोषणा गरेको एमसीसी संसदबाट अनुमोदन गराउन गर्नुपर्ने र नगर्नुपर्ने सबै काम पनि गरे तर अन्तिम समयमा देउवाबाट धोका पाउने देखेपछि उनले पौडेलको नाममा त्रुप फ्याँकेका छन ।
उनले पौडेलको प्रधानमन्त्री बन्ने इच्छा पूरा हुने सम्भावना बढेको बताए । प्रचण्डले आफूले प्रधानमन्त्री नपाउने पक्का पक्की भएको संकेतसहित पाँच दलीय गठबन्धन बनाउन पौडेलले ठूलो भूमिका रहेको भन्दै आगामी निर्वाचनपछि देशको कार्यकारी प्रमुख बन्ने सम्भावना बढेको बताए । प्रचण्डको यो कार्ड कांग्रेस विभाजन गराउन हो या रामचन्द्र पौडेललाई चित्त बुझाउन भन्ने प्रश्न खडा भएको छ ।
प्रचण्डको अभिव्यक्ति मुलत दुई कुराको संकेत गर्छ । पहिलो भोलिको दिनमा कांग्रेसले आफूलाई प्रधानमन्त्री नदिने भएपछि पौडेलको नेतृत्वमा कांग्रेस फुटाएर उनलाई प्रधानमन्त्री बनाउने । यो संकेत हुनसक्छ भन्नका लागि प्रचण्डका यसअघिका दुई गतिबिधि हेर्दा पुग्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई आलोपालोको प्रधानमन्त्री छाड्न नमानेपछि उनले एमाले विभाजन गराएर माधव नेपाललाई प्रधानमन्त्री बनाउन ठूलै प्रयास गरे । यद्यपी प्रचण्ड एमाले विभाजनमा मात्रै सफल रहे । अर्को प्रचण्डले आफू नहुने अवस्था भएपछि नेपाली कांग्रेससँग लम्पसार परेर अदालतमा सेटिङ गरी सर्वोच्चको आदेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गराए ।
अर्को कुरा २०७४ मा पौडेल हराउन देउवाले गरेको सेटिङ अहिले पनि हुने निश्चित छ । पौडेलले चुनाव जितेभने संसदीय दलको नेतामा पनि लड्ने र नपाएमा गगन थापाको समूहमा लागेर बिद्रोह गर्ने सम्भावना रहेको छ । त्यो सम्भावना समाप्त गर्न देउवाले अहले पनि पौडेल हराउन प्रचण्डसँग सहमति गरेका हुनसक्छन । उनले उक्त सहमति सतहमा नआोस् भन्नका लागि प्रचण्ड मार्फत पौडेलको प्रधानमन्त्रीको त्रुप फ्याँक्न लगाएका हुन सक्छन । त्यसकारण प्रचण्डको देउवा मेल वा झेल जे भएपनि भोलिका दिनमा कांग्रेसलाई अघि बढ्न समस्या हुन सक्ने देखिन्छ ।
प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार १७:१५












