नियमविपरीत बढी सेवा शुल्क असुल्ने लघुवित्तलाई रकम फिर्ता गर्न राष्ट्र बैंककाे निर्देशन
२८ कार्तिक, काठमाडाैं । नेपाल राष्ट्र बैंकले बढी शुल्क असुल्ने लघुवित्तलाई रकम फिर्ता गर्न निर्देशन दिएकाे छ । राष्ट्र बैंकले ग्राहकबाट बढी सेवा शुल्क लिने लघुवित्तलाई त्यस्तो रकम फिर्ता गर्न निर्देशन दिएकाे हाे ।
हाल केन्द्रीय बैंकबाट अनुमति लिएर ६५ लघुवित्त सञ्चालनमा छन् । नियमविपरीत असुलेको रकम फिर्ता गर्ने प्रक्रिया सुरू नगरेसम्म ती संस्थालाई साधारण सभा गर्न स्वीकृति नदिने राष्ट्र बैंकले जनाएकाे छ । लघुवित्तहरूलाई कर्जा प्रवाहमा सेवा शुल्क १.५ प्रतिशतसम्म मात्र लिन पाउने व्यवस्था छ । तर, केही लघुवित्तले सोभन्दा बढी रकम असुलेको पाइएको छ ।
पुस मसान्तसम्म साधारण सभा गर्नुपर्ने प्रावधान अनुसार बैंक तथा वित्तिय संस्थाहरूले यतिबेला राष्ट्र बैंकसँग स्वीकृति मागिरहेका छन् । ती संस्थाको वित्तीय विवरण हेरेर कमजोरी सुधार्नसमेत निर्देशन दिइएको राष्ट्र बैंकले जनाएकाे छ । यसअघि राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई पनि ऋणको बढी प्रिमियम असुलेको भन्दै फिर्ता गर्न भनेको थियो । त्यस्तो रकम फिर्ता गर्ने ८ वाणिज्य बैंकले साधारणसभाको अनुमति पाएका छन् ।
प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १४:२४












