४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

मर्जरका लागि रोक्का भएका कम्पनीको सेयर कारोबारमा आउने, बोर्डले जारी गर्यो यस्ताे निर्देशिका

२४ कार्तिक, काठमाडाैं । नेपाल धितोपत्र  बोर्डले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ  । उक्त निर्देशिका आज कार्तिक २४ गतेदेखि नै लागु हुने बोर्डले जनाएकाे छ । उक्त निर्देशिका अनुसार अब सुचिकृत कम्पनीहरु मर्जमा हुँदा बढीमा १५ दिन मात्र सेयर कारोबार रोक्का गर्न पाइने छ ।

विशेष व्यवस्थामा उल्लेख भएअनुसार यो निर्देशिका लागू हुनुअघि गाभ्ने, गाभिने र प्राप्ति प्रक्रियामा रहेका कारण सेयर कारोबार रोक्का रहेका संगठित संस्थाको आधारभूत सेयरधनीबाहेक अन्य सेयर कारोबार फुकुवा हुने व्यवस्था गरएको छ।

निर्देशिका लागू भएसँगै मर्जर प्रक्रियामा रहेका कम्पनीहरुको सेयर कारोबार फुकुवा हुनेछ । निर्देशिका लागूभएसँगै गाभ्ने र गाभिने तथा प्राप्तिमा गएका कम्पनीहरुको सेयर कारोबार १५ दिन बढी भन्दा बढी समय रोक्का नहुने भएको छ । अब मर्जर तथा एक्विजिस पश्चात् कम्पनीको एकिकृत कारोबार भएपछि १५ दिनमात्रै सेयर कारोबार रोक्का हुनेछ ।

‘एकीकृत व्यवसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्नेछ,’ निर्देशिकामा भनिएको छ ।

आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोवार फुकुवा गर्न संगठित संस्थाले आधारभूत सेयरधनीको विवरणसहित धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थासमक्ष निवेदन दिनुपर्नेछ। निवेदनका आधारमा धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले संगठित संस्थाको आधारभूत सेयरधनीबाहेकको सेयर कारोबार तत्काल खोल्ने व्यवस्था गर्नुपर्नेछ।

निर्देशिका अनुसार आधारभूत सेयरधनीको सेयर भने मर्जर सम्झौता गरेको भोलिपल्टबाट नै रोक्का राख्नु पर्ने छ  । त्यस्तै निर्देशिकाले बढीमा ६ महिना भित्रमा मर्जर प्रक्रिया सक्नु पर्ने ब्यबस्था गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार १२:४६