इस्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहाेस् नतिजा
१७ कार्तिक, काठमाडाैं । इस्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ आज कार्तिक १७ गते बिहीबार बाँडफाँड भएकाे छ । धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बिहीबार बिहान आईपीओ बाँडफाँड गरिएको हो। कम्पनीले गत असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म सर्वसाधारणका लागि साधारण सेयर आईपीओ बिक्री खुला गरेको थियो।
कम्पनीले १०० अंकित दरका कुल ६ लाख ७० हजार ३१० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशतले हुने आउने ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी ६ लाख २५ हजार १९० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका छन्।
उक्त आईपीओमा १३ लाख ५८ हजार २२० आवेदकबाट कुल १ करोड ४८ लाख ७४ हजार ४० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो। जसमा १३ लाख ५६ हजार २२४ आवेदकबाट परेको १ करोड ४८ लाख ४७ हजार ५५० कित्ता सदर भएको छ। बाँकी १ हजार ९९६ आवेदकबाट परेको २६ हजार ४९० कित्ता सेयर बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण कम्पनीकाे आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ६२ हजार ५१९ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। भने १२ लाख ९३ हजार ७०५ आवेदकको हात खाली भएको छ।
आईपीओ नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np, सिडीएससीको मेरोसेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र इस्टर्न हाइड्रोको वेबसाइट https://ehpl.com.np/ बाट हेर्न सकिने छ ।
प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार ०९:४६












