४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

नुवाकोटको घ्याङ्फेदीमा पहिरोका कारण ३७ घर विस्थापित

२९ भदाै, नुवाकोट । जिल्लाको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीको चेताङमा गएको पहिराका कारण ३७ घरपरिवार विस्थापित भएका छन् । बुधबार बिहानदेखि जान थालेको पहिराका कारण चेताङका ३७ घरपरिवार विस्थापित भएका हुन् । सढ्तीस घरमध्ये १२ घर पहिरोमा परेर पूर्णरुपमा क्षति भएको र अन्य घरमा पहिरोको जोखिम भएपछि विस्थापित भएको स्थलगत अनुगमनमा आज पुग्नुभएका नुवाकोट क्षेत्र नं १ का सांसद हीतबहादुर तामाङले जानकारी दिनुभयो ।

“पहिरो खसिरहेको छ, पानी नपर्दा पनि पहिरो नरोकिएकाले विस्थापित घरको सङ्ख्या अझै बढ्न सक्ने देखिएको छ”, सांसद तामाङले भन्नुभयो । पहिरोबाट विस्थापित भएका खुला आकाशमुनि बसिरहेकाले उनीहरुलाई आवश्यक त्रिपाल, खाद्य सामग्री पु¥याउन समन्वय गरिएको सांसद तामाङले बताउनुभयो ।

आज पहिराको अवस्था र असर बुझ्न सांसद तामाङ, संसद्मा नेकपाका प्रमुख सचेतक देव गुरुङ र प्रदेश नं ३ का उपसभामुख राधिका तामाङ घटनास्थल पुग्नुभएको थियो । पहिराको कारण स्थानीय माङ्गेन खोलामा आएको बाढीले तीन वटा झोलुङ्गे पुलसमेत बगाएको छ ।

पहिराले तीन वटा भैँसी, छ वटा गाई र गोरु, १०० वटा गिरिराज जातको कुखुरा भएको फार्मसमेत बगाएको छ । पहिरोबाट विस्थापित भएकालाई नजिकैको घ्यावार चौरमा राखिएको छ । विस्थापितको सहयाताका लागि त्रिपालसहितको टोली पठाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताउनुभयो । पहिरोमा फसेका दुई जनाको बुधबार साँझ नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरी विदुर ल्याएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार ०२:५१