२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

नुवाकोटको चिम्टेश्वरबाट हेर्दा


–शम्भु गजुरेल ‘अज्ञानी’

प्रभात को पहिलो किरण
सुनकेशरी पर्दा झै
छपक्क छाइदिदा,
अन्तर्मनका कुइनेटामा
उकुज पल्टेका बेदना हरु
निलगगन तिर ,
बिलिन भैदिन्छन!
पशुपति को स्वर्ण गजुर
मेरो सौन्दर्य नियाल्दै,
लोभी नजरले हेरिरहन्छ
मलाई मात्रै एकटक!
नगरकोट को डाडा
कोलाहल को बितृष्णा ले
मेरो ईर्ष्या गर्दै
कुहिरो मा लुक्दै छ,
फुल्चोकी र शिवपुरी ले
चन्द्रागिरी सगै लोलि मिलाएर
मेरो गुणगान गरेको जस्तो
मेरो छवि मा डाह गरे झै
एकोहोरो हेर्दैछन मलाइ!
स्वम्भु का दयालु नजर
मेरै रुपमा लोभिए झै लाग्छ
निर्मल आकाश मुनि
निर्बिघ्न उभिएर हेर्दैछु म
नवदुर्गा, कृष्ण अनि चागुनारायण
अनि सिङ्गो कान्तिपुर
झल्झली जगमगाउदै देख्छु
बाग्द्वार देखि उर्लिदै
झरेको बागमती मै तिर लम्के झै
हतारिदै अविरल बग्दै छ
मेरो नजरमा रोमाञ्च भर्दै!!

सिम्भन्ज्याङ्ग को काखिको पालुङ
मडारिदो आग्रा खोला
परेड खेल्दै लामबद्द सिपाही झै
नाग्ढुङ्गा बाट चिप्लिदै
गन्तव्य को खोजीमा हुइकिने
मोटर को ताती ले
हौस्याउछ मलाइ!
पारी पारी गोर्खा दरबार
अनि मनकामना देविस्थान
नजिकै झै लाग्छ
हेल्म्बु को स्याउ वारि
घोप्टेभिरको थाप्लो
टड्कारो देखिन्छ
गणेश अनि लाङटाङ
हिउले थिचिएर होलान
मेरो रमणीयता ले रुदैछन
आँसु बगाउदै छन
तादी र त्रीशुली बनाएर!

पुर्वको कुनाबाट विश्व शिर
पुलुपुलु हेर्दैछ मलाइ
माछापुच्छ्रे एकोहोरो हेर्दैछ
म दङ्ग छु
अप्सरा को सुन्दरता मा
पुरुष जाती पछि लागे झै,
छर्लङ्ग मेरो रुप हेर्दै छन सबै
म पनि त हेर्दै छु
सबैलाइ
नजिकै बाट
आहा मनमोहक छ
चारै तरफ मेरो
स्वच्छ शितल शान्त
त्यसैले त होला
निलकन्ठ पनि सुस्ताएछन याहा
गोसाइँकुण्ड लाग्दा
बीष पिडामा भुलेछन चिम्टा
आफ्नो बिश्राम को चिनो
चिम्टेस्वर भै बसेछन
पावन बनाएछन मलाइ!

त्यसै काहा होला
पृथ्वी ले जयन्त बध गरेका
एकरातमै बेलकोटगढी
निर्माण गरेका
डबली को प्रचिन धरोहर
भञ्ज्याङ् माथिको खर्क
पौवा ले सजिएको फाट
कोल्पु निर्मित टार
बाघखोर माथिको बिसौले
मृग बनेल काठे भालु सगै
इत्तरिने कालिज र लुइचे
काफल ऐसेलु को उपवन
एक्ले कोल्पु बासुकी काशिटार
थामेर मग्न छन
मेरो आस्था मा,
अनि पो त म
सन्सार देखाउछु
धुरी बनेर ,,
चिम्टेस्वर भोलेको आशिर्वाद ले
प्रफुल्ल शिर उच्च पारेर !

बेलकोटगढी–९, नलगाउ, नुवाकोट ।

प्रकाशित मिति : २७ भाद्र २०७५, बुधबार १२:१९