१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

रविन्द्र मिश्रको बहिर्गमन वैकल्पिक राजनीतिमा एउटा अँध्यारो अध्यायको अन्त्य

-मिलन पाण्डे

रवीन्द्र मिश्रजीलाई आगामी यात्राका निम्ति शुभकामना, वैकल्पिक राजनीति र विवेकशील साझा अभियानमा पुर्याएको योगदानका निम्ति धन्यवाद। अन्त्यमा बासी म:म – चाउमिन नै रोजेकोमा, फिलिंग सरी।

८-९ महिना अघि, कतारका हाम्रा नेता कल्याण थापा सहितको एउटा टोलीले रवीन्द्रजीसँग प्रश्न गर्छन्, ‘तपाईँले किन राजनीति सुरु गर्दा नै यो राजा बोक्ने कुरा भन्नु भएन ?’

उत्तरमा रवीन्द्रजीले भन्नुहुन्छ, ‘त्यो बेला यी कुरा गरेको भए, त्यति बेला जोडिएका साथीहरू जोडिँदैन थिए नि त !’

तीनकुनेमा केशवजी, हरिशजी, रवीन्द्रजी र म गफ गर्दै थियौँ। उहाँ हामीलाई ‘विचारभन्दा माथि देश’को बारेमा आफ्ना तर्क दिँदै हुनुहुन्थ्यो। मैले झोक्किएर सोधेँ, तपाईँले एकीकरण गर्दा नै यी एजेन्डाको बारेमा भन्नुपर्दैन ?

उहाँले आफ्नै तरिकाले भन्नुभयो- ‘मैले त्यत्रो लेखहरू ( मनुज चौधरी वाला ) लेखेकै थिएँ त।’ दोस्रो एकीकरणको बेलामा मैले रवीन्द्र मिश्रजीसँग दसौँ पटक यी एजेन्डाको बारेमा सोधेको छु। संवाद समितिलाई भनेको छु। प्रत्येक चोटि रवीन्द्रजीले लुम्बिनीमा उहाँलाई यो एजेन्डा किन पास गर्नुपर्यो भनेर आफ्नो बाध्यता सुनाउनु हुन्थ्यो। नामै लिएर केहि प्रदेश संयोजकको दबाबको कुरा गर्नुहुन्थ्यो। उहाँको पक्षका वार्ता कमिटीका नेताहरूलाई इंकित गरेर तपाईँहरूसँग वार्ता गर्न को कोलाई पठाएको छु र उहाँहरूले के सोच्नुहुन्छ मलाई थाहा छैन र भनेर भन्नुहुन्थ्यो।

पछि यी विषयमा हामीले लिखित सहमति नै गर्‍यौँ। संविधान मान्ने, सङ्घीयतालाई थप संस्थागत गर्ने र विगतका उपलब्धिको रक्षा गर्ने हामी दुई पक्षले हस्ताक्षर गर्‍यौँ । लोकतन्त्रमा देशलाई साक्षी राखेर गरेको यो सम्झौतालाई मैले पनि विश्वास गरेँ।

के लोकतन्त्रमा लिखित सहमतिलाई विश्वास गर्नु हाम्रो गल्ती थियो ? दोष सहमति गर्ने र निभाउनेको हो की, विश्वास र सहमति तोड्नेको ? खैर, आजबाट यी कुरा सकिएका छन्।

मिश्रजीसँगको सहकार्यका धेरै घटनाहरू मलाई आम नागरिकलाई भन्नु छ। तर, आज होइन, कुनै दिन यो यात्राको बारेमा किताब लेखेँ भने सबै कुरा लेख्ने छु। सायद लेख्दिन पनि होला, के काम ती कुराको ? किन कलम र कापी वेस्ट गर्ने ?

तर यो बिचमा, अहिलेका नेता भएन भनेर खुलेका विवेकशील र साझाका नेताहरुमा भने गज्जबको वैचारिक स्पष्टता आएको छ। यो सानो कुरा होइन। म किन राजनीति गर्दै छु भनेर थाहा पाउनु कुनै पनि आन्दोलनको लागी र संस्थाका लागी सानो विषय होइन। यो विगत डेढ वर्षको हाम्रो सबैभन्दा ठुलो उपलब्धि हो। हामी सबैलाई बधाई . यो स्पष्टताले हामीलाई लामो दुरीमा धेरै सहयोग गर्ने छ।

केहि युवाहरूले वैकल्पिक राजनीतिको यात्रा सुरु गरे, केहि व्यक्ति आए, सकेको योगदान गरे, अनि हिडे। एकजना यात्री जाँदैमा यात्रा कहाँ रोकिन्छ र? यात्रा अघि बढ्छ।

—-
प्रिय वैकल्पिक राजनीति गर्ने साथीहरू, विवेकशील अभियानमा नेतृत्व साथीहरू, विवेकशील साझा पार्टीका साथीहरू, तपाईँहरू कत्ति पनि विचलित नहुनुहोला।

हामी सबै मिलेर यो अभियानलाई अब थप परिपक्व बनाएर अघि बढ्ने छौँ। हामी थप सशक्त भएर अघि बढ्ने छौँ। नागरिकको जीवनसँग जोडिएका मुद्दामा अभियान गर्ने छौँ। नीतिहरूमा व्यापक बहस गराउने छौँ। र, अब स्पष्ट रणनीति सहित सङ्गठन निर्माण गर्ने छौँ। फेरी भन्छु, यो अभियानलाई हामी सबै मिलेर उठाउने छौँ। अब तपाईँहरूले मलाई पनि ग्राउन्डमा देख्नु हुनेछ। वादको बहस धेरै गरियो, अब फेरी काम गर्ने हो।

यो निर्वाचनमा सकेको गरौँ। अझै केहि स्थानहरूमा राम्रो गर्न सक्ने सम्भावना छ। त्यसमा काम गरौँ। यही बिचमा छरिएका विचार मिल्ने साथीहरूलाई एक ठाउँमा ल्याऔँ।

हामी साथीहरूलाई वैकल्पिक राजनीतिमा लात खाएका तर त्यो आगो भएका विभिन्न अभियानमा रहेका साथीहरूसँग सहकार्य भइरहेको र छिटै वैकल्पिक राजनीतिको केन्द्र बन्ने कुराको जानकारी पनि यही सन्देश मार्फत जानकारी गराउन चाहन्छौँ।
त्यसको एउटा मोटामोटी खाका पनि तयार भइसकेको छ।

फेरी पनि, राप्रपाका नयाँ युवा नेता रवीन्द्रजीलाई मनैबाट शुभकामना। नेपाली राजनीतिमा एउटा समस्या छ भन्नुहुन्थ्यो – मेनु हेर्ने हेर्ने अनि म:म चाउमिन रोज्ने। तर आज आफैँ, म:म चाउमिनको विकल्प दिन हिँडेको मानिसले म:म चाउमिन नै रोज्नुभयो, त्यो नि बासी। विवेकशील अभियानको जय होस्। नेपालको जय होस्।

(वैकल्पिक राजनीतिमा एउटा अँध्यारो अध्यायको अन्त्य यहीँ, यसरी नै भयो। द इन्ड अफ द स्टोरी)

(पाण्डेले आफ्नो फेसबुकमा पोस्ट गरेको सामाग्री यहाँ साभार गरिएको होः सम्पादक)

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार ०७:१३