दास प्रवृतिबाट मुक्त हुन ‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने केपी ओलीको नीति’ अनुशरण गराैँ
-सरोजकुमार तामाङ
कम्युनिष्टको विचार र सिद्धान्त बोक्नेहरू नै आज दास र झोले प्रवृतिको शिकार भैरहेका छन । अन्याय, अत्याचार, थिचोमिचो, भेदभाव र असमानताकाेबिरुद्ध बोल्ने र परिवर्तनको तागत राख्नेहरू नै आफ्नै संगठनभित्र दास र झोलेको रुप धारण गर्नु एक विचारणीय विषय हो । बाह्य जगतको लागि बोल्न, लेख्न र अभिब्यक्ति प्रकट गर्न लोकतन्त्र आएपनि आफैँसँग गाँसिएको दल र उक्त दलभित्र हेपिएर पेलिएर बस्नुको दुःख कम दर्दानाक देखिदैन् । यस्तो किन हुँदैछ ? यसका भावी परिणामहरु के हुनसक्छ ? यसबारेमा वृहत बहस र छलफलको खाँचो रहेको छ ।
परिवर्तनकामी दलहरूभित्रको संगठनहरुमा साचो अर्थमा दिनरात खट्ने कार्यकर्तामाझ लोकतन्त्रको ग्यारेन्टी हुनसक्दैन भने हामीले लडेर ल्याइएका हाम्रा हक र अधिकारहरुलाई संस्थागत गर्न सक्दैनौं । जब ती हाम्रा हक र अधिकारहरु संस्थागत हुनसक्दैन तब त्यहाँ फेरी नाम मात्रको लोकतन्त्र हुन्छ जहाँ लोकतन्त्रको आवरणभित्र शोषक र सामन्तीवर्गको चरित्रले जन्म लिन थाल्छ । राज्य व्यवस्थाको परिवर्तन जनताको निर्देशित भीडले गर्ने हो तर तीनलाई चलायमान बनाउने भनेकै सम्बन्धित राजनीतिक दलका नेता र कार्यकर्ताहरुले हुन् ।
परिवर्तित राज्य व्यवस्थालाई सञ्चालन गर्न आवधिक निर्वाचनमार्फत दलका झोले र दासत्वको भारी बोक्न तयार नेता र कार्यकर्ताहरू जनप्रतिनिधिको रुपमा नीति निर्माण तहमा पुगे अवसरवाद र सांगठानिक अराजकताको बिजारोपण हुने हो । त्यो गलत प्रवृतिको अन्तिम शिकार भनेको आशातित जनताहरु नै हुन् । एकपछि अर्को गर्दै राज्यसत्ता संचालनको क्रममा त्यही प्रवृतिका पात्रहरु दोहोरिदै जादाँ आफ्नो सुखद समयको पर्खाइमा बसेका जनताहरु आफैंले ल्याइएको ब्यवस्थाप्रति घृणा पैदा गर्न शुरु गर्छन भने दल र नेताहरुप्रति आक्रोश ब्यक्त ।
गलत रवैयाको कारणले जब यसरी नेतृत्वदायी दलहरु र जनताबीच दूरी बढ्दै जान्छ तब मुलुकमा राजनीतिक अस्थिरता चाहानेहरुले प्रत्यक्ष र परोक्ष तवरबाट जनशासन ब्यवस्थामाथि मौसमी विकासवाद, मौसमी राष्ट्रवाद र संकीर्ण अस्थित्ववादका अस्त्रहरु फ्याँक्दै जनताबीच वैचारिक दुश्मनको लडाई लडाउँदै सिमित वर्गको शासन ब्यवस्था र राष्ट्रियता ल्याउन हरदम तयार रहन्छ । राष्ट्रप्रमुखबाट प्रमाणिकृत नभएको विवादस्पद नागरिकता विधेयक यसको एक नमूना हो । यो नागरिकता विधेयकबाट तीन प्रकारका राजनीतिक लाभ लिने शक्तिहरुको अहिले उदय भएको छ । सबैको रणनीति भनेकै कसरी हुन्छ आगामी मंसिरको निर्वाचनलाई आफ्नो पक्षमा पार्ने भन्ने नै हो ।
एक, भारतीय विस्तारवाद, वैदेशिक एकाधिकार पुँजीवाद र अमेरिकी साम्राज्यवादका दलाली र गुलामी गर्ने परमादेशी सरकारका शेयरहोल्डरहरु जसरी भए पनि कानूनका छिद्राहरुको भरमग्दूर प्रयोग गर्दै जनमत आफ्नो पक्षमा पार्दै फेरिपनि सत्तासीन हुने दाउमा रहेको छ । त्यसका निम्ति जनघात र राष्ट्रघात गर्न कतिपनि संकोच यिनीहरुमा देखिदैन । सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको गरिमामय सदनबाट राष्ट्रघाती एमसीसी पास हुनु, विदेशीलाई सोझै शासन सत्ता संचालन गर्न ल्याइएको नागरिकता विधेयकलाई जस्ताको तस्तै प्रमाणीकरण गर्न विदेशीको ईशारामा राष्ट्रप्रमुखलाई दबाब दिनु गुलामी राष्ट्रवादको एक उदाहरण हो ।
संसदबाट पास हुने सबै विधेयकहरु सही सावित हुन्छ भने विगतमा संसदको दुई तिहाई मतबाट पास भएको महाकाली सन्धिलाई किन राष्ट्रघाती भन्दै नेकपा एमालेलाई राष्ट्रघातीको संज्ञा प्रचन्ड एन्ड प्रचन्ड कम्पनीले लगाएको होला ? कि त्यो बेला भएको राष्ट्रघाती महाकाली सन्धिलाई राष्ट्रवादमा रुपान्तरण गर्न आज विवादस्पद नागरिकता विधेयकलाई प्रमाणीकरण गर्दै चोख्याँउन खोजिएको हो ? जे भएपनि विवादस्पद नागरिकता विधेयकद्धारा मुलुकमा शोषक सामन्ती प्रथाको आधार र अवशेषलाई जिवितै राख्न, र गुलामी र दलाली राष्ट्रियतामा परिन्त गर्न खोज्ने यो परमादेशी एकाँधिकारवादको अन्त्य अबको निर्वाचनपछि जनताको स्वविवेकले हुनुपर्छ ।
दोस्रो, जनताको निर्णायक शक्ति नेकपा एमाले यो विवादस्पद नागरिकता विधेयकलाई राष्ट्रप्रमुखद्धारा प्रमाणीकरण हुनबाट बचाउँदै बृहत जनसहभागिताको राष्ट्रियता र राज्यको प्रत्येक अंग र निकायहरूबाट शोषक सामन्तीवर्ग, वैदेशिक एकाधिकार पुँजीवाद र तीनका विकसित रुप साम्राज्यवादका आधार र अवशेषहरुलाई निर्मूल गर्दै सुखी नेपाली र समृद्ध नेपालको सपना पुरा गर्न चाहन्छ । त्यो नै जनताको बहुदलीय जनवादको समय सापेक्ष ब्याख्या र विश्लेषण गर्दै सर्वहारा र श्नमजीवीवर्गको उन्मुक्ति मिल्ने समाजवादको आधार निर्माण गर्नु हो ।
तेस्रो, २४० बर्षदेखी शोषक र सामन्ती प्रथालाई निरन्तरता दिदै संकीर्णता राष्ट्रवाद र आसेपासेको विकासवाद नीति अवलम्बन गर्ने राजतन्त्रको छत्रछाँयामा हुँर्केहरु कतै यही मौकामा चौका हान्न सकिन्छ कि भनि विभिन्न सामाजिक संन्जालमार्फत तितरवितर भैसकेको दूर्बल शक्ति देखाउँदैछ । तर, जनताले यिनका आवाज एक कानले सुनेर अर्को कानले उडाउँदै छ ।
स्मरणरहोस् ! मुलुकलाई निकास र विकास दिनुपर्ने ठाउँमा अस्थिरताको राजनीति गर्नु र गराउनुमा नेता र कार्यकर्ताहरु नेतृत्व तहको झोले र दास भएरै हो । यसको भूमिका प्रत्यक्ष हैन, अप्रत्यक्ष छ । वास्तवमा झोले र दास प्रवृति नेतृत्व तहले विकास गरेको हैन् । यो त हामीभित्रको संकीर्ण सोचको उपज हो । दलभित्र मौलाउँदै गएको अन्याय, अत्याचार, थिचोमिचो, भेदभाव र लैंगिक विभेदको खुलेर बिरोध गर्न नसक्नु हो । बिरोध गरेको खण्डमा कतै पद र पदीय लाभ लिन सकिन्न कि भन्ने गरिब मानसिकताको उपज हो ।
हे परिवर्तनकारी नेता तथा कार्यकर्ताहरु हो ! संगठनको लागि हामी हैनौं; हाम्रा आवश्यकताको लागि संगठन हो । अन्याय र अत्याचारको बिरुद्ध एकताकासाथ लड्न संगठन हो । ब्यक्तिगत स्वार्थको लागि संगठन हैन; हाम्रा साझा विचार र सिद्धान्तलाई ब्यवहारिक हिसाबले लागू गर्न खोलिएको संगठन हो । सिद्धान्तको लागि हामी हैनौं; हाम्रा जीवन पद्धतिलाई ब्यवस्थित तवरले संचालन गर्न सिद्धान्त हो । नेताको स्वार्थ पूरा गर्न कार्यकर्ता बनेका हैनौं; दलले बोकेको विचार र सिद्धान्तलाई लक्षित वर्गको जनतामाझ पुर्याउन दूतको भूमिका निर्वाह गर्न बनेका हामी कार्यकर्ता हौं ।
नेताको दासत्व स्वीकार्न कार्यकर्ता बनेका हैनौं; आफ्नो विचार र सिद्धान्त बोकेको दललाई थप शक्तिशाली बनाउँदै जनप्रिय र राष्ट्रप्रिय बन्न कर्मीमौरी झैं दिनरात खट्ने एक साहसिक योद्धा हौं । तसर्थ चोक या कुनै क्याफेमा चिया गफ गरेर घण्टौं समय खेर फाल्ने भन्दा दुई पेज भएपनि पढेर विचार र सिद्धान्तको बारेमा जानकारी हासिल गरौं । पद र पदीय लाभको निम्ति नेताको झोला बोकेर कुद्ने भन्दा आफ्नो वौद्धिक क्षमता प्रस्तुत गर्दै संगठनलाई नेतृत्व प्रधान गर्ने हिम्मत राखौं ।
वौद्धिक लेखनलाई निरन्तरता दिम ताकि नेताको सर्कल हैन आफ्नै सर्कलको पनि निर्माण गरौं । बैठकहरुमा नियमित भाग लिदैँ उठेका बिषयहरुमा दमदार तर्क वितर्क प्रस्तुत गरौं । दिनमा कम्तिमा पनि ५ मिनेट धाराप्रवाह हिसाबले बोल्ने कलाको अभ्यास गरौं । आफ्नो कला, सीप, वौद्धिक क्षमतालाई प्रस्फुटन गर्न विभिन्न सामाजिक संन्जालहरुको प्रयोग गरौं । अरुको विचारलाई लाईक, कमेन्ट र शेयरमात्र गर्ने हैन; आफ्ना विचारमा पनि लाईक, कमेन्ट र शेयर गर्न अरुलाई प्रोत्साहन गरौं ।
यो स्वार्थी दुनियाँमा अरुले गर देला कि भनेर कुरेर बस्नु भन्दा आफ्नो लागि आफैं केही गर्ने जमर्को गरौं । अरुले के गर्यो गरेन त्यो बारेमा चियोचर्चा गरेर समय बेतित गर्ने भन्दा म के गर्दैछु भन्नेमा दिनको एक मिनेट भएपनि सोचौं र कसरी समाजको एक उदाहरणीय पात्र बन्न सकिन्छ त्यो मार्ग तय गरौं । अरूसँग आफ्नो तुलना नगरौं किनकि ब्यक्तिपिच्छे स्वभाव र आचरण फरक फरक हुन्छ । बरू, मेरो प्रस्तुति हिजोको भन्दा आज राम्रो, आजको भन्दा भोलि राम्रो हुनुपर्छ भनि आफैंले आफैंभित्र च्यालेन्ज गरौं । जिन्दगीमा सफलता प्राप्त गर्न चाहाने हो भने बारम्बार नकारात्मक सोचको नवीकरण नगरौं । अरुको लागि ताली पट्काउनेहरु आफ्नो लागि पनि तालीको बर्षा अपेक्षा राखौं । अन्त्यमा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नु भए झै ‘सत्यसँग नलडौँ शक्तिसँग नझुकौँ’ ।
प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार १३:५३