१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

कोइला अभावले आरन व्यवसायमा चुनौती

४ असाेज, दोधारा चाँदनी । कोइलाको अभावले आरन व्यवसाय विस्तारमा समस्या देखिएको छ । आरन व्यवसायबाट जीविका चलाउँदै आएका समुदायको पुख्र्यौंली पेसा कोइलाको अभावमा अहिले विस्तार गर्न समस्या देखिएको हो । पुख्र्यौली पेसा आरन व्यवसायबाट जीविका चलाउँदै आएका कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीका गणेश तिरुवा कोइला अभावले आरन व्यवसाय बन्द हुने अवस्थामा पुगेपछि चिन्तित बनेका छन् ।

आरन व्यवसायबाटै दुई छोराछोरीको पढाई र घरखर्च चलाइरहनुभएका उनी पछिल्लो समय कोइला नपाउँदा गरिखाने पेसा नै बन्द हुने अवस्थामा पुगेको बताउँछन्। सामुदायिक वनले जङ्गल पस्न निषेध गरेपछि कोइला अभाव हुन थालेको उनले बताए । “सामुदायिक वन भएपछि जङ्गल जान पाइँदैन, कोइलाको समस्या भयो”, उनले भने, “अहिले महाकाली नदीले बगाएका दाउरा सङ्कलन गरेर गुजारा चलाइरहेका छाैँ ।”

“जोखिम मोलेर महाकालीको भेलमा दाउरा सङ्कलन गर्न जान्छौँ”, उनले भने, “वर्षात्मा महाकाली नदीले बगाएर ल्याएका दाउरा सङ्कलन गरेर वर्षभरि पुर्याउनुपर्छ नत्र हिउँदमा व्यवयसा नै बन्द हुने अवस्था आउँछ ।” आरन व्यवासय सञ्चालन गर्न समस्या आउन थालेपछि उनका छोरा रोजगारीका लागि भारतको हरियाणा पुगेका छन । जिविकोपार्जनका लागि आरन पेशाको विकल्प नहुँदा रोजगारीका लागि भारत जानुपर्ने बाध्यता आएको उनले बताए । “अरु काम गर्न सीप छैन पूख्र्यौली देखी आरन व्यवसाय भएकाले यसको भरमा बाच्नुपर्छ”, उनले भने, “अन्य केही सीप भए त्यो काम गरेर खान हुन्थ्यो अरु सीप भएन ।”

आरन व्यवसायको विकल्प नहुँदा पछिल्लो समय रोजगारीका लागि भारत जानुपर्ने बाध्यता रहेको रोशन तिरुवाले बताए । “गाउँमा केही उत्पादन गर्न जमिन छैन, भएको जमिनमा पनि उब्जनी हुँदैन, जङ्गली जनावरले सखाप गर्छन्”, उनले भने, “यो पेसा छोडेर गाउँका धेरै मानिस रोजगारीका लागि भारत गएका छन् ।” आरन व्यवसायबाटै घरखर्च सञ्चालन गर्न समस्या हुन थालेपछि भारत जान थालेको उनले बताए ।

स्थानीय सरकारले पुख्र्यौली पेसा जोगाउन सहयोग गर्ने प्रतिबद्धता गरे पनि सहयोग हुन नसकेको स्थानीय रतनसिंह ठगुन्नाले बताउनुभयो । “यो पेशाबाट कमाई राम्रो हुन्छ तर, कोइला पाउन मुस्किल भयो”, उनले भने, “कोइला अभावले यो पेसा नै लोप हुने अवस्थामा पुगेको छ ।” दलित समुदायको मुख्य पेसाका रुपमा रहेको आरन व्यवसाय युवापुस्ताले रुचाउन छाडेपछि समस्या भएको उनले बताए ।

कोइला पाउन छोडेपछि गाउँमा दैनिक कृषि काममा आवश्यक पर्ने हँसिया, कुटो, कोदालोलगायत सामान बनाउन समस्या भएको स्थानीय बताउँछन् । कृषिमा उपयोगी सामग्रीका धार साँध्नलाई समेत आरन अत्यावश्यक पेसा हो । हँसिया, कुटो, कोदालोलगायतका सामग्री कृषि कार्यका लागि मात्र नभई आरनबाट उत्पादित ऐतिहासिक तरबार, त्रिशूल, विभिन्न कलात्मक भगवानका मूर्ति बनाउने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलवार १४:३४