प्रधानन्यायाधीशमा सिफारिस मिश्रको सुनुवाइ आज
२५ भदौ, काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको सुनुवाइ गर्दैछ । आइतबार मिश्रविरुद्ध उजुरी दर्ता गर्नेसँग छलफल गरेको सुनुवाइ समितिले आज उजुरीबारे मिश्रसँग जवाफ माग्न लागेको हो ।
संसदीय सुनुवाइ समितिले मिश्रविरुद्ध परेका उजुरीको सुनुवाइका लागि ९ बजे बैठक बोलाएको जनाएको छ । प्रस्तावित प्रधानन्यायाधीशका विषयमा चार उजुरी परेकोमा एक जनाले उजुरी फिर्ता लिएका थिए भने तीन जनासँग समितिले आवश्यक सोधपुछ गरी प्रष्ट हुने प्रयास गरेको थियो । यसअघि प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले दीपकराज जोशीको नाम संसदीय सुनुवाइका लागि सिफारिश गरेकोमा समितिले उनको नाम अस्वीकार गरेको थियो ।
सुनुवाइपछि समितिले अनुमोदन सम्बन्धी निर्णय गर्नेछ । समितिले प्रस्तावित पदाधिकारीलाई दुई तिहाइ बहुमतबाट अस्वीकृत गर्न सक्नेछ ।
प्रकाशित मिति : २५ भाद्र २०७५, सोमबार ०९:३९