४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

सभामुख महराद्वारा झांगमु–तातोपानी र केरुङ–रसुवागढी नाका पुल पुनःनिर्माणको शिलान्यास

२४ भदाै, काठमाडौँ । चीन भ्रमणमा रहनुभएका सभामुख कृष्णबहादुर महराले आज झांगमु–तातोपानी (सिन्धुपाल्चोक) र केरुङ–रसुवागढी (रसुवा) नाकामा अवस्थित पुलको पुनःनिर्माण र ल्हासास्थित महावाणिज्य दूतावास भवनको शिलान्यास गर्नुभएको छ । ल्हासामा आयोजना गरिएको विशेष समारोहकाबीच उहाँले नेपाल–चीन सीमा नाकाका अन्तर्राष्ट्रिय मितेरी पुलको पुनःनिर्माण तथा महावाणिज्य दूतावास भवनको शिलान्यास गर्नुभएको हो ।

सभामुख महराको प्रमुख आतिथ्यमा ल्हासाबाटै भिडियो प्रविधिबाट गरिएको उक्त शिलान्यास समारोहमा तिब्बत जनकाङ्ग्रेसका अध्यक्षसहितका पदाधिकारीको सहभागिता रहेको सभामुख महराको सचिवालयले जनाएको छ ।

विसं २०७२ वैशाख १२ को ‘गोरखा भूकम्प’का कारण नेपाल–चीन जोड्ने दुवै मितेरी पुल क्षतिग्रस्त भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला संयुक्त वक्तव्यमा दुई मितेरी पुल बनाउने सहमति भएसँगै चीन सरकारले पुल पुनःनिर्माणको कार्य अघि बढाउन लागेको हो । यी दुई मितेरी पुल निर्माण भएसँगै दुई देशबीचको व्यापारका साथै पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्नेछ ।

शिलन्यास कार्यक्रममा ल्हासास्थित नेपाली महावाणिज्यदूत, परराष्ट्र मन्त्रालयका सहसचिव, शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा नेपाल–चाइना फ्रेण्डसिप एशोसियसनका पदाधिकारीको उपस्थिति रहेको थियो । ल्हासामा शिलान्यास गरिएको उक्त भवन चीन सरकारको स्वामित्वमा नियोगले सन् २०७५ सम्मका लागि भाडामा लिएको हो ।

 

प्रकाशित मिति : २४ भाद्र २०७५, आईतवार १८:३१