बेगनास तालमा बेपत्ता भएका ६ जनाको शव भेटियो
२४ भदौ, कास्की । कास्कीकाे बेगनासतालमा शनिबार डुंगा दुर्घटना हुँदा बेपत्ता भएका ६ जनाको शव भेटिएको छ । यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । नवलपरासीको गैँडाकोट घर भएका ३२ वर्षीय रवि खनाल, उनकै छोरा सात वर्षीय शङ्कर र आठ वर्षीय शिव खनाल, पाँच वर्षीय प्राचीन पौडेल र १७ वर्षीया मनिसा बजगाईंको शव फेला परेको प्रहरीले जनाएको छ । खनाल नेपाली सेनामा कार्यरत रहेका थिए ।
उनीहरु तीज मान्नका लागि वेगनासताल पारि घर भएका आफन्त कमल कँडेलको घरमा आएको बताइएको छ । डुङ्गाघाट पुग्न करिब दुई सय मिटर वर लिप्दी भन्ने स्थानमा डुङ्गा दुर्घटना परेको थियो । शनिवार उद्धार गरिएका मध्ये पोखरा महानगरपालिका–२८ कालीका घर भएकी ५२ वर्षीया कृष्णकुमारी बजगाईं र पोखरा–३१ बेगनास घर भएकी ३२ वर्षीया जमुना कँडेलको उपचारका क्रममा मृत्यु भएको थियो ।
बजगाईंको लेखनाथ सामुदायिक लायन्स अस्पताल र कँडेलको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । डुङ्गा गन्तव्यमा पुग्नु भन्दा करिब दुई सय मिटर वर नै दुर्घटनाग्रस्त भएको हो । डुङ्गामा १० जना सवार रहेका थिए । दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २४ भाद्र २०७५, आईतवार १३:५५