१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

यी वस्तुहरुमा भयो करका दर हेरफेर (सूचनासहित)

२४ भदाै, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको बजेटमार्फत कर बढाईएका केही वस्तुहरुको कर घटाउनु भएको छ । बजेट निर्माणका बेला अर्थमन्त्रीसँग नजिक रहेको केही उद्योगी र व्यवसायीलाई ‘पोस्ने’ गरी करका दर हेरफेर गरेको भन्दै व्यवसायीहरू आन्दोलित थिए । अर्थ मन्त्रालयले मंगलबारको मन्त्रिपरिषद बैठकका निर्णय अनुसार राजपत्रमा सूचना जारी गर्दै बजेटमार्फत कर बढाईएका ५ बस्तुको करको दर हेरफेर गरेको हो ।

नयाँ भन्सार महशुलको दररेट अनुसार सरकारले वायर, रड र हट रोल्ड सर्कुलर (भन्सार उपशीर्षक ७२१३.९१.१०) को भन्सार महशुल १० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेको राजपत्रमा उल्लेख छ । सरकारले भटमासको तेल उत्पादन गर्ने उद्योगहरुले भटमासका दाना आयात गर्दा यसअघि ५० प्रतिशत भन्सार महशुल छुट दिईएकोमा अब ९० प्रतिशत छुट हुने भएको छ ।

तोरी, रायो, क्यानोला (सर्स्यूँ) गेडा आयात गर्दा पनि यसअघि ५० प्रतिशत छुट रहेको भन्सार महशुल अब ९० प्रतिशत छुट हुनेछ । सूर्यमुखीको गेडा पैठारी गर्दा पनि अब ९० प्रतिशत नै भन्सार महशुल छुट हुने भएको छ । यसअघि बजेटमार्फत ५० प्रतिशत मात्रै छुट दिईएको थियो ।

त्यस्तै, कच्चा पामतेल र कच्चा सूर्यमुखी तेलको आयातमा पनि भन्सार महशुल ९० प्रतिशत नै छुट हुने भएको छ । त्यस्तै, सेनेटरी प्याड उद्योगले पर्फोरेटेड पी.ईं कच्चा पदार्थ पैठारी गर्दा अन्तःशुल्क नलाग्ने भएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार ११:०३