३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

राष्ट्र बैंकले बैंकहरुलाई दिन थाल्यो नयाँ नोट, भदौ २९ देखि सर्वसाधारणले साट्न पाउने

२३ भदाै, काठमाडौं । दसैँका लागि लक्षित गर्दै नेपाल राष्ट्र बैंकले नयाँ नोट बैंक तथा वित्तीय संस्थालाई दिन सुरु गरेको छ। राष्ट्र बैंकले हिजो बुधबारदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट दिन सुरु गरेको हो। राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले बुुधबार विभिन्न बैंक तथा वित्तीय संस्थालाई झन्डै २२ करोड रुपैयाँ नयाँ नोट दिइएको बताएका छन् ।

आज (बिहीबार) मात्र राष्ट्र बैंकले ३० करोड रुपैयाँ बराबरको नयाँ नोट बैंक तथा वित्तीय संस्थामा पठाएको उनले बताए । राष्ट्र बैंकले वाणिज्य बैंकलाई १० करोड, विकास बैंकलाई ५ करोड र फाइनान्स कम्पनीलाई ३ करोड रुपैयाँको नयाँ नोट वितरण गर्ने व्यवस्था गरेको छ। सर्वसाधारणहरुले भदौ २९ गतेदेखि नयाँ नोट साट्न पाउनेछन् ।

सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय नयाँ नोट साट्न पाउनेछन् । ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक एक वटा बन्डल हुने गरी १८ हजार ५०० रुपैयाँमा सीमा तोकिएको हो । राष्ट्र बैंकले बैंकहरुलाई बढीमा असोज ७ गतेसम्म नयाँ नोट उपलब्ध गराउने र सर्वसाधारणले असोज १४ गतेसम्म नयाँ नोट सटही गर्न सक्ने प्रमुख नेपालले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार १७:२८