६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

केवाईसी अद्यावधिकको बहानामा डिजिटल ठगी बढ्दो, सचेत रहन राष्ट्र बैंकको आग्रह

१२ फागुन, काठमाडाैं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको नाम र लोगो दुरुपयोग गर्दै ‘केवाईसी विवरण अद्यावधिक गर्नुपर्ने’ बहानामा डिजिटल ठगी गर्ने घटनामा वृद्धि भएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै फोन, एसएमएस वा सामाजिक सञ्जालमार्फत पठाइने लिंकमा क्लिक नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

राष्ट्र बैंकका अनुसार ठगहरूले नक्कली वेबसाइट बनाएर प्रयोगकर्तासँग ओटीपी, पिन नम्बर, पासवर्ड लगायत गोप्य बैंकिङ विवरण माग्ने गरेका छन्। बैंक तथा वित्तीय संस्थाले केवाईसी अपडेटका लागि कहिल्यै पनि यस्ता अनधिकृत लिंक नपठाउने राष्ट्र बैंक स्पष्ट गरेको छ।

सर्वसाधारणलाई केवाईसी सम्बन्धी जानकारी आधिकारिक वेबसाइट वा सम्बन्धित बैंकको शाखाबाट मात्र लिन, शंकास्पद सन्देश प्राप्त भएमा तुरुन्तै बैंकमा सम्पर्क गर्न र कुनै पनि गोप्य विवरण साझा नगर्न राष्ट्र बैंकले अनुरोध गरेको छ।

राष्ट्र बैंकले “सचेत नागरिक बनौं, सुरक्षित डिजिटल बैंकिङ अपनाऔं” भन्दै डिजिटल ठगीबाट जोगिन सबैलाई सचेत रहन अपिल गरेको छ।

प्रकाशित मिति : 09:50