निर्मला हत्या प्रकरणः कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट पनि दोषी ठहर
२२ भदाै, काठमाडाैँ । निर्मला पन्तको बलात्कारपश्चात हत्याको घटनामा कञ्चनपुरका तत्लकालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलार्इ छानविन समितिले दोषी ठहर गरेको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले प्रहरी प्रमुखको गम्भीर लापर्वाही देखिएको बताए ।
उनले निर्मलाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानको पाटोलाई छोडेर गम्भीर लापरवाही गरेको बताए । उच्चस्तरीय छानबिन टोलीले तात्कालीन प्रहरी प्रमुखकै कमजोरीले घटनाको निष्पक्ष छानबिन हुन नसकेको ठहर गरेको छ । ‘यो सबै घटनाको सुक्ष्म अध्ययन गर्दा प्रहरीको कमजोरी देखिएकाले हामीले तत्काल प्रमुख प्रमुख एसपी डिल्ली बिष्टलाई निलम्बन गर्न सिफारिस गर्याैँ’, मैनालीले भने ‘अनुसन्धानमा खटिएका प्रहरी विभागमा झिकाइसकिएकाले अब उनीहरुसँग पनि सोधपुछ हुन्छ ।’
उनका अनुसार अनुसन्धानमा अन्य प्रहरीको पनि त्रुटी भेटिए टोलीले उनीहरुलाई पनि कारबाहीका लागि सिफारिस गर्ने बताए । संयोजक मैनालीले अनुसन्धानका क्रममा आफूहरु यस्ता थुप्रै तथ्यहरु फेला पारेको बताउँदै टोलीले प्रहरीको नयाँ अनुसन्धान टोलीलाई प्रमाण तथा तथ्यहरुका बारेमा बताए ।
छानबिन समितिका सदस्य प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठले पनि निर्मलाको हत्या प्रकरणमा प्रहरीबाटै लापर्वाही भएको बताए । हमन्त्रालयले निर्मलाको बलात्कार र हत्याको घटनामा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको छानबिन तथा थप अनुसन्धानका लागि गृहका सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरी भदौ ८ गते कञ्चनपुर पठाएको थियो ।
प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार १७:४६