२३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026

श्रीकृष्ण न्यौपानेको काव्य ‘भृकुटी’ प्रकाशित

१० भदाै, काठमाडाैँ । लमजुङका छन्दवादी कवि एवं साहित्यकार श्रीकृष्ण न्यौपानेको ऐतिहासिक काव्य ‘भृकुटी’ प्रकाशित भएको छ । १२ सर्गमा विभाजित काव्यमा १५ वटा शास्त्रीय छन्दहरूको कलात्मक प्रयोग गरिएको छ । २०४८ सालमा ‘छली’ सामाजिक काव्य प्रकाशित गरेर नेपाली साहित्यको आकाशमा कृतिकारको रुपमा स्थापित भएका न्यौपानेले ३१ बर्षपछि आफ्नो दोस्रो कृति प्रकाशित गरेका हुन् ।

‘भृकुटी’ काव्य राजकुमारी भृकुटीको जीवनगाथाको मोटामोटी आकलन हो । नेपाली ऐतिहासिक नारी भृकुटीका विषयमा काव्य निर्माण गरेर कवि श्रीकृष्णले एकातिर नारीप्रति सम्मान गरेका छन् भने आदर्श नारी भृकुटीको जीवनगाथालाई जनसमक्ष प्रस्तुत गरेर त्यस्ता नारीको जीवनगाथाबाट काव्यात्मक रसमा केही सिक्ने वातावरण बनाएका छन् ।

भृकुटीलाई कुनै न कुनै उपायबाट महान् ऐतिहासिक नारीका रूपमा सिद्ध गर्न खोजिएको छ । यति हुँदा हुँदै पनि यो काव्यमा विषयलाई छुट्टै किसिमले पनि देखाइएको छ ।भृकुटीसँग सम्बन्धित भएर पनि बाह्य इतिहासमा धेरै चर्चामा नआएका पात्रले यहाँ सानोतिनो भूमिका पाएका छन् । अनामी, सुधा,रमा वीरकाजी आदि पात्र इतिहासमा त्यति भेटिन्नन् ।

रमा स्वयम् भृकुटीको वास्तविक नाम हो । उनी सोलुबाट काठमाण्डौ बसाइँ सरेका शेर्पा परिवारकी छोरी भएको र उनलाई फकाएर कैलाशकुट भवनमा लगी अंशुबर्माकी छोरीको रूपमा राखेपछि उनी भृकुटी बनेको तथ्य यहाँ ऊजागर भएको छ । समग्रमा काव्यले भृकुटीलाई उच्च कोटीकी राष्ट्रिय विभूतिका रूपमा चिनाएको छ ।

काव्यका सम्बन्धमा छन्द बचाउ अभियानका संस्थापक एव कवि माधव वियोगी विविध छन्दको प्रयोगले यसलाई खण्डकाव्य हुन नदिएको र महाकाव्यका केही लक्षण देखिए पनि विषयको विस्तारीकरण र श्लोक सङ्ख्या लगायतले यसलाई महाकाव्य हुनबाट रोकेकाले लेखकले यसलाई काव्य मात्र भनेर अनफ्नो शास्त्रीय प्रतिष्ठा र नैतिक अनुशासनलाई जोगाएको बताउँछन् ।

काव्य प्रकाशनमा हतार नगर्ने स्वभावका न्यौपानेबाट रचित विपासना महाकाव्य लगायतका दर्जनौँ काव्यहरू तथा शास्त्रीय गजलहरूको संग्रह साथै गीतिकाव्य तथा फुटकर कविताका धेरै कृतिहरू अब भने निरन्तर प्रकाशित गर्ने निजको पारिवारिक स्रोतले बताएको छ ।

करिब आधा शताब्दीबाट छन्द साहित्यमा साधनारत न्यौपाने पिङ्गल छन्द प्रतिष्ठान नेपालको अध्यक्ष भई छन्द संरक्षणको अभियानमा समेत सक्रिय रहँदैआउनुभएको छ ।

प्रकाशित मिति : August 26, 2022 at 10:08 am