ऋणपत्र निष्कासन गर्दै कुमारी बैंक
९ भदाै, काठमाडाैँ । कुमारी बैंकले ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्कासन गर्न लागेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी रहेको १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्न लागेको छ । सर्वसाधारणलाई निष्कासन गरिने मध्ये ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
सो ऋणपत्र खरीदका लागि भदौ २१ गतेसम्म आवेदन दिनुपर्नेछ र उक्त अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा निष्कासन अवधि भदौ ३१ गतेसम्म थप हुनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले मेरो सेयर एप र वेवसाइट साथै, सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।
प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार १३:२६