४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

नेपाल प्रज्ञा प्रतिष्ठानमा कराेडाैँ भ्रष्टाचार, दुर्इ तिहाइको सरकारले छानविनमा देखाएन तदारूकता

–दुर्गा पुडासैनी

२२ भदाै, काठमाडाैँ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले एकै पटक करोडौं रुपैयाँभन्दा बढी घोटाला गर्दा समेत उनीमाथि कुनै कारबाही भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको मान्छे हुँ, मैले गरेको निर्णयमाथि कसैले कारबाही गर्न सक्दैन भन्दै उनले लामो समयदेखि सरकारी ढुकुटीको रकम घोटाला गर्दै आएकामा पछिल्लो समय प्रेस खरिदमा घोटाला गरेका छन ।

प्रतिष्ठानलाई अत्यावश्यक सामग्रीको सूची बनाई खरिद गर्नेभन्दै बजारभाउभन्दा अत्यधिक मात्रामा मूल्य निर्धारण गरेर ‘प्रिन्टिङ मेसिन’ खरिद गरेका हुन् । प्रतिष्ठानका कुलपति उप्रेतीकै विशेष योजनामा उपकुलपति विष्णुविभु घिमिरेर सदस्य सचिवजीवेन्द्र देव गिरीको सहयोगमा प्रतिष्ठानबाहिरका व्यक्तिसँग छलफल गरी करोडौ रुपैयाँ घोटाला गरेका हुन् ।

गोप्य रुपमा प्राप्त विवरणअनुसार कुलपति उप्रेतीले निजी प्रेस मेसिन सञ्चालन गर्दै आएका मकालु प्रकाशन प्रालिका मालिक बासु ढकाल, प्रिन्टिङ प्रेस विज्ञभन्दै मोहन जोशी र भारतीय नागरिक तथा प्रेस मेसिनको ठेक्कापट्टा गर्दै आएका दीपक जैनसँग गोप्य रुपमा पटक–पटक बसेको बैठकपछि कमिसनमा कुरा मिलाएर अत्यधिक महंगोमा मेसिन खरिद गर्न सल्लाह दिएपछि प्रतिष्ठानबाट बोलपत्र आह्वान गरिएको थियो ।

कुलपति उप्रेतीले उनीहरुसँग गोप्य बैठक बस्दा गरेको खर्च समेत प्रतिष्ठानबाटै भुक्तानी गरेको समेत स्रोतले जानकारी दिएको छ । कमिसनको सेटिङ मिलाउने व्यक्तिहरुसँगको सल्लाहअनुसार टेण्डर डकुमेन्ट बनाउँदै उप्रेतीले घोटाला गरेको स्रोतको दाबी छ । सुरुदेखि नै सेटिङ मिलाएको कारण ५० हजार डलर पर्ने मेसिनलाई छ लाख ३६ हजार ९ सय ४० डरलमा खरिद गरेको स्रोतले जानकारी दिएको छ ।

गत सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओलीले दैनिक पत्रिकाका सम्पादकहरुको भेटमा ‘भ्रष्टाचारको मामलामा म कडा छु’ त्यसमा भोलि देखिने स्थिति बन्न सक्छ, मैले भ्रष्टाचार फेला पारें भने म अनुहार हेर्दिनँ, व्यवहार हेर्छु, कसले ग¥यो, यो मेरो परिभाषाभित्र पर्दैन, म नातागोता हेर्दिनँ, तपाईहरुले समाउनुभए हुन्छ नि त नातागोता, आफन्तवाद, कृपावाद, सामीप्यतावाद केजातिवाद, अथवा, तपाईंहरुले यो भन्न सक्नुहुन्छ, राजनीतीकरण ग¥यो भनेर, अहिलेको समस्या के हो भने राजनीतीकरण, राजनीतिकरण गर्नुहुन्न’ भन्दै गर्दा उनकै नाम लिएर कुलपति उप्रेतीले करिब छ करोड रुपैयाँ प्रेस मेसिन खरिदमा घोटाला गरेको सार्वजनिक हुँदा समेत अहिलेसम्म उनीमाथि कुनै छानबिन समेत भएको छैन ।

कुलपति उप्रेतीले प्रधानमन्त्री ओलीकै नाम लिँदै सकेसम्म चीनका लागि नेपाली राजदूत भएर जाने नभएमा पुनः प्रतिष्ठानकै कुलपतिमा नियुक्ति लिने भन्दै कर्मचारीहरुमाथि समेत विभिन्न आरोप लगाउँदै दुःख दिनथालेको प्रज्ञाका कर्मचारीहरुले दुःखेसो गर्नथालेका छन् । कुलपति उप्रेतीले ढकाल, जोशी र जैनका अलवा प्रतिष्ठानबाहिरका इन्जिनियरहरुलाई राखेर सरकारी रकमको दुरुपयोग गरेको समेत भेटिएको छ । उनले हाइड्रोका इन्जिनियर मोहनबहादुर कार्की र आर्केटेक इन्जिनियर शान्ति थापालाई इन्जिनियरिङ विभागमा नियुक्त गरेर विद्यमान ऐनकानुनको समेत उल्लंघन गरेको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ ।

हाइड्रो र आर्केटेक इन्जिनियरहरुले प्रतिष्ठिानमा खरिद गर्ने प्रेस मेसिन ठीक छ भन्दै प्रमाणित गरेको समेत खुलेको छ । कार्की र थापाले प्रतिष्ठानबाट मेसिन खरिद गर्ने भएपछि जनक शिक्षा सामग्रीमा गएर पहिलो पटक प्रेस मेसिन देखेको समेत सोही संस्थानका एक कर्मचारीले बताए । कुलपति उप्रेती नेपाल विश्वभाषा क्याम्पसको प्रमुख भएदेखि नै सरकारी रकमलाई कुन शीर्षकमा खान सकिन्छ भन्दै विभिन्न बहाना बनाएर खर्चभन्दा बढी रकमको बिल बनाई घोटाला गर्दै आएका कर्मचारी हुन् ।

तत्कालीन समयमा स्ववियूको निर्वाचन नभएको अवस्थामा दैनिक १ जना विद्यार्थी नेतालाई बबरमहलमा रहेको एक रेष्टुरेन्टमा बैठक भन्दै बोलाउने र सोही रेष्टुरेन्टमा बैठक बसेको भन्दै लाखौ रुपैयाँसम्मको बिल बनाउन लगाई सरकारी ढुकुटीबाट रकम झिकी भ्रष्टाचार गर्दै आएको आरोप समेत उनीमाथि लागेको छ ।

प्रज्ञामा खरिद गरेको मेसिन प्रचलित बजार मूल्यभन्दा अत्यधिकबढीमा खरिद गरी सरकारी ढुकुटीको पैसा घोटाला गरेको समाचार प्रकाशित भएपछि सो संस्थानबाट प्राप्त पत्रको पहिलो पेजको अन्तिम हरफमा टेण्डरमार्फत भएको विषयमा बोलपत्रदातासँग वार्ता गराएर मूल्य घटाएको उल्लेख गरिएको छ ।

विद्यमान कानुनअनुसार कुनै पनि ठेक्कापट्टामा भरिएका कम्पनीको मूल्य अत्यधिक महंगो भएमा सो टेण्डर रद्द गरी पुनः अर्को टेण्डर आह्वान गर्नुपर्नेमा सो प्रक्रियाविपरीत कुलपति उप्रेतीको निर्देशनमा ठेकेदार कम्पनीको प्रतिनिधिसँग वार्ता गरेर मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक १० करोड ८६ लाख ७५ हजार ४ सय ५१ रुपैयाँ ९ पैसामा सम्झौता गरी म्यापइन्टरप्रिनर्स प्रालि पानीपोखरीको टेण्डर स्वीकृत गरिएको थियो । सो बोलपत्रदातासँग प्रज्ञा परिषद्का कुलपति उपे्रती, सदस्य सचिवगिरीलगायत अन्य कर्मचारीको योजनाअनुसार सो मेसिन खरिदमा न्यूनतम छ करोड रुपैयाँभन्दा बढीको सरकारी पैसा घोटाला भएको छ ।

सो सीमाभित्र मात्र दुईवटा कम्पनीले मात्र बोलपत्र पेस गरेको सोही संस्थानबाट प्राप्त पत्रसंख्या २०७५/०७६ को चलानी नम्बर ३/स.नि.स उल्लेख गरेको पत्रका अनुसार गोप्य सिलबन्दी बोलपत्र सबैको रोहबरमा २०७४ वैशाख १९ गते खोलिएको उल्लेख गरिएको छ । प्राप्त बोलपत्र खोलेपछि सो संस्थानले कुन आधारमा बोलपत्रदातासँग रकम घटाघट गर्न म्याप कम्पनीका प्रतिनिधिसँग वार्ता गरेर घटाउनुमा पनि कानुनविपरीत भएको पाइएको छ ।

कागजी रुपमा कानुनअनुसार गरिएको टिप्पणी उठाएर व्यावहारिक रुपमा करोडौं रुपैयाँ सरकारी कोषबाट दोहन गरेको प्रमाणित भएको छ । गोप्य बोलपत्र दर्ता गर्नुपर्नेमा म्याप कम्पनीले प्रिन्टसेल इमेजिङ प्रालिले हालेको बोलपत्र अंक (रुपैयाँ) थाहा पाउनु र प्रज्ञाले बोलपत्र खोलिएको एक महिनापछि म्याप कम्पनीलाई स्वीकृति दिनुले पनि सामान खरिदमा घोटाला भएको प्रमाणित हुने दाबी स्रोतको रहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार ०९:४०