१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

अख्तियारकाे प्रमुख आयुक्तमा नवीन घिमिरे सिफारिश, काे हुन् घिमिरे ?

२० भदाै, काठमाडौँ । संवैधानिक परिषद्ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरेको नाम सिफारिश गरेको छ । बुधवार बसेको परिषद्को बैठकले कार्यवाहक प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गर्दै अनुमोदनका लागि संसदीय सुनुवाइ विशेष समितिमा पठाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत घिमिरेको नाममा सहमति जनाएका थिए । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, कानून मन्त्री तथा उपसभामुख सदस्य रहने व्यवस्था छ । संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट अख्तियारको प्रमुख आयुक्तको नियुक्ति हुनेछ ।

को हुन घिमिरे ?

वि.सं. २०१२ साल भदौमा जन्मिएका घिमिरे काठमाडौंको सिफलका स्थायी बासिन्दा हुन् । जन प्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन गरेका घिमिरे २०७४ फागुनदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका रूपमा कार्यरत छन् । निवर्तमान प्रमुख आयुक्त दीप बस्न्यातले अवकाश पाएपछि घिमिरेले कार्यवाहक प्रमुखका रूपमा अख्तियारको नेतृत्व सम्हाल्दै आएका छन् ।

लामो समय गृह प्रसाशनमा काम गरेका घिमिरे काबिल प्रशासक मानिन्छन् । गृहसचिवबाट अवकाश पाउनुअघि उनले रक्षा, वन तथा भुसंरक्षण मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालिसकेका छन् । सुरक्षा र प्रशासन क्षेत्रका विज्ञ घिमिरेले आफ्नो जीवनको ३५ वर्षभन्दा बढी समय प्रशासनिक क्षेत्रमा व्यतित गरेका छन् । घिमिरे सुप्रबल जनसेवाश्री पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार १४:१५