१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

असमान तलबबृद्धि नसच्याए कडा कदम चाल्ने निजामती कर्मचारी सङ्गठनको चेतावनी


२३ साउन, काठमाडाैँ । नेपाल निजामती कर्मचारी सङ्गठनले अर्थमन्त्रालयले बजेटको घोषणा विपरित तयार गरेको नयाँ तलबमान कार्यान्वयन नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासचिव जीवन काफ्लेले सोमबार एक विज्ञप्ति जारी गर्दै असमान तलबमान कार्यान्वयन नगर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

सङ्गठनले जारी गरेको विज्ञप्तिमा अर्थ मन्त्रालयको छाप र जिम्मेवार अधिकारीको दस्तखतसहितको राष्ट्रसेवक कर्मचारीहरूको आर्थिक वर्ष ०७९/०८० को बजेट वक्तव्यमा उल्लेख गरिएभन्दा नयाँ र फरक-फरक तलबमान प्रस्तुत गरेबाट आम राष्ट्रसेवक कर्मचारीहरूमा अन्योल बढेको जनाइएको छ ।

कर्मचारीको तलब वृद्धि प्रतिशतका आधारमा नभई श्रेणीविहीन पददेखि मुख्यसचिवसम्म समान अङ्कमा वृद्धि गर्नुपर्ने भए पनि आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा राष्ट्रसेवक कर्मचारीहरूको तलबमान समान प्रतिशतमा वृद्धि गरिने विषय उल्लेख भएको र त्यहीअनुसार संघीय संसदबाट बजेट पारित भएको विज्ञप्तिमा उल्लेख छ।

सङ्गठनले कर्मचारीको तलब वृद्धि गर्दा राजपत्र अनङ्कित कर्मचारी र राजपत्राङ्कित कर्मचारीलगायत प्रदेश र स्थानीय तहमा रहेका कर्मचारीबिचको तलबमानको अन्तर कम गर्नुपर्नेमा जोड दिएको छ । संगठनले विज्ञप्ति मार्फत उठाएको मागको तत्काल सुनुवाइ नभए जुनसुकै प्रकारका आन्दोलन वा विरोधका कार्यक्रम अगाडि बढाउन बाध्य हुने चेतावनी  समेत दिएको छ । संगठनको विज्ञप्ति तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार १४:५८