१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

अर्थमन्त्री शर्माको निर्णय उल्टियो, बजेट घोषणा विपरितको तलबमान लागू नहुने


२३ साउन, काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माको कर्मचारीको तलबमान सम्बन्धी निर्णय उल्टिएको छ । शर्माले असमान तलबमान प्रस्ताव गरेपछि कर्मचारी संगठनका नेताहरूले भेटेर अर्थमन्त्री शर्माको प्रतिवाद गरेपछि निर्णय फिर्ता लिन मन्त्री शर्मा तयार भएका छन ।

अर्थमन्त्रालयले मन्त्रिपरिषद्मा पठाउनका लागि तलबमान तयार गरेको थियो । तर बाहिर सञ्चारमाध्यममा सूचना चुहिए लगत्तै उक्त तलबमानका बारेमा कर्मचारी र तीनका संगठनका प्रतिनिधिहरूको प्रतिवादपछि नयाँ तलबमान कायम हुने भएको छ ।

कर्मचारी ट्रेड युनियनका नेताहरूसँग सोमबार भएको छलफलमा अर्थमन्त्री शर्माले तत्कालका लागि अहिले सार्वजनिक भएको तलबमान अघि नबढाउने र पे कमिसनबाट सुझाव लिएर मात्र आवश्यक निर्णय गर्ने बताएका नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले जानकारी दिए ।

सरकारले मर्यादाक्रम मिलाउने भन्दै बजेटमा घोषणा गरिएको भन्दा ९ प्रतिशत बढी तलब  बृद्धि गर्ने प्रस्ताव गरेको थियो ।  चालु वर्षको बजेटबाट सरकारले कर्मचारीको तलव १५ प्रतिशतले बढाएको थियो तर अर्थ मन्त्रालयले शाखा अधिकृतभन्दा माथिको तलव भने २४ प्रतिशतसम्म बढाउन प्रस्ताव गरेको थियो । नासुहरू अान्दोलित भए पछि उक्त निर्णयबाट मन्त्रालय पछि हटेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार १४:४७