मन्दाकिनी हाइड्रोपावरकाे शेयर मंगलबार बाँडफाँट हुने
१६ साउन, काठमाडाैं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर मंगलबार बाँडफाँट हुने भएको छ । कम्पनीले साउन १५ गते प्रि अलमेन्ट सकेर भाेली अपरान्ह ४ बजे बाँडफाँट गर्ने तयारी गरेको हो । कम्पनीको शेयर, बिक्री प्रबन्धकको बिओके क्यापिटलको कार्यलय नारायणचौर नक्सालमा बाँडफाँट हुनेछ ।
कम्पनीले साउन साउन ९ गतेदेखि १२ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।
त्यस शेयरमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी रहने १० लाख ९३ हजार ७४८ कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले वितरण हुनेछ । त्यस अनुसार एक लाख ९ हजार ३७४ जना आवेदकले मात्रै कम्पनीको शेयर पाउनेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार १९:१५












