भूकम्पले क्षतिग्रस्त धरधराको पुर्निर्माणको अन्यौल अन्त्य, जिआइइटिसी–रमनले निर्माण गर्ने
१७ भदौ, काठमाडौं । भूकम्पले क्षतिग्रस्त बनाएको धरधराको पुर्निर्माणको अन्यौल अन्त्य भएको छ । साथै जिआइइटिसी–रमनले धरहरा निर्माणको जिम्मा पाउने भएको छ । अब बाहिरबाट हेर्दा ११ तलादेखिने गरी २२ तले धरहरा निर्माण हुनेछ । अहिले क्षतिग्रस्त भएको ठूटोलाई सिसाले घेरेर प्रदर्शनीमा राखिनेछ ।
धरहरा पुनर्निर्माणका लागि विभिन्न ६ कम्पनीले आवेदन पेस गरेका थिए। त्यसमध्ये सबैभन्दा कम रकम बोलकबोल गर्ने उक्त कम्पनीको ३ अर्ब ४५ करोड रुपैयाँको प्रस्ताव प्राधिकरणले स्वीकृत गरेको हो। सार्वजनिक खरिद व्यवस्थामा सबैभन्दा कम बोलकबोल गर्ने कम्पनीको प्रस्ताव स्वीकार गर्नुपर्ने व्यवस्था छ। सोही अनुसार प्राधिकरणले उक्त कम्पनीको प्रस्ताव स्वीकार गरेको हो।
धरहरा पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बोलपत्र आह्वान गरेपनि टेण्डरमा सहभागी कम्पनी नक्कली भएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेपछि ठेक्का प्रक्रिया रोकिएको थियो ।
प्राधिकरणले उजुरीको अनुसन्धानपछि ठेक्का प्रक्रियामा कुनै नक्कली कम्पनी नआएको निष्कर्ष निकाल्दै अाज (आईतबार) ठेक्काको आर्थिक प्रस्ताव खोलेको छ । आर्थिक प्रस्तावमा जिआइइटिसी–रमन सबैभन्दा कम रकम कबोल गर्ने कम्पनी रहेका कारण उसैले ठेक्का पाउने भएको हो । यद्यपी प्राधिकरणले जिआइइटिसी–रमनको अार्थिक प्रस्तावमा अध्ययन भैरहेको जनाएको छ ।
प्रकाशित मिति : १७ भाद्र २०७५, आईतवार १८:४७