राष्ट्रपतिको स्वागतका लागि भोलि त्रिवि शिक्षण अस्पताल बन्द गर्न दिब्या सिंहको उर्दी
३२ असार, काठमाडौँ । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन प्रा डा दिव्या सिंहले भोलि साउन १ गते राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि तीन वटा अस्पताल बन्द गरेर कार्यक्रममा सहभागी हुन उर्दी जारी गरेकी छिन ।
डिन सिंहले असार ३० गतेको मितिमा जारी गरेको उर्दीमा आकस्मिक कक्षबाहेकको सम्पूर्ण सेवा बन्द गरेर कार्यक्रममा सहभागी हुन उर्दी जारी गरिएको छ । उनले त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरिसक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रलाई कार्यक्रममा सहभागिता जनाउनका लागि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्न भनिएको छ ।
साउन १ गते संस्थानको ५० औँ वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा राष्ट्रपतिलाई पनि निमन्त्रणा गरिएको छ । अस्पतालमा हुने बन्द र हड्ताल नियन्त्रण गर्नका लागि भूमिका निर्वाह गर्नुपर्ने निकायको प्रमुखले नै अस्पताल बन्द गर्न उर्दी गरेपछि राष्ट्रिय स्वास्थ्यकर्मी संघका महासचिव डा सन्तोष पाैडेल आपत्ति जनाएका छन । उनले जनता पहिला कि नेता भन्ने प्रश्न कसले बुझाइदेला भन्दै प्रश्न समेत गरेका छन ।
डा पैडेलले भनेका छन, ‘जनता जाय भाँडमे, हम करे नेताजीकी जयजयकार!! सामान्ती संस्कारमा हुर्केकी ‘मैसाप’लाई समाजवादी सरकारले डिन त बनाईदियो तर ‘जनता पहिला’ कि नेता ? भन्ने यक्षप्रश्न कसले बुझाईदेला!! IOM मा सेवा रोक्नु निन्दनीय छ!!’
प्रकाशित मिति : ३२ असार २०७९, शनिबार १२:२५