सुदूरपश्चिम सरकार प्रतिपक्षीको १४ बुँदे माग सम्बोधन गर्न तयार, सदन आजैबाट खुल्ने
२९ असार, कैलाली । सुदूरपश्चिम प्रदेश सरकार र प्रतिपक्षी दलबीच सहमति भएको छ । सरकार पक्ष प्रतिपक्षी दलको १४ बुँदे माग सम्बोधनका लागि तयार भएको हो ।
सरकार पक्षले एमाले, जसपा र लोसपाले बजेटका विषयमा गरेका मागहरूसम्बोधन गर्ने लिखित निर्णय गरेपछि प्रदेशसभा बैठक आजैबाट सुरू हुने भएको छ । प्रतिपक्षी दलले बजेट संशोधन नहुँदासम्म संसद् बहिष्कार गर्दै आएका थिए । पटकपटक सदन अवरुद्ध हुँदा बजेटमाथिको छलफल अनिश्चित बनेको थियो ।
मुख्यमन्त्री त्रिलोचन भट्टसहित तीन मन्त्रीले गरेको निर्णयमा भनिएको छ, ‘प्रतिपक्षी दलले राखेको १४ बुँदे प्रस्तावलाई सुदूरपश्चिम प्रदेश सरकारले गम्भीरताको रूपमा लिएको छ’, ‘प्रतिपक्षी दलहरूबाट आएका मागहरू आवश्यकता र औचित्यका आधारमा आएका योजनाहरू प्रदेश आर्थिक योजना आर्थिक कार्यविधि ऐन तथा नियमावली विनियोजन ऐन र सुशासन ऐनको परिधि भित्र रही सम्बोधन गर्ने कुरामा प्रदेश सरकार सकारात्मक रहेको छ । सोही बमोजिम प्रतिपक्षी दलले सदन सुचारु गर्ने कुरामा सहयोग गर्नेछ।’
यो सहमतिसँगै प्रदेशसभामा विपक्षी दलहरुले गरेको अवरोध हटेको छ । प्रदेशसभा बैठक बुधबार दिउँसो ३ बजे बस्ने आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले बताए । उक्त बैठकमा बजेटमाथि छलफल गर्ने र बुधबार नै बजेट पारित गर्ने तयारी छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार १५:१८












