२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

विभिन्न स्थानमा करेन्ट लागेर चार जनाको मृत्यु

२८ असार, काठमाडौं । कपिलवस्तु, धनुषा, रुपन्देही र बारामा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–३ डेरवा बस्ने २५ वर्षीया बिन्दा बासी पासीको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको हो । आफ्नै घरमा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।

धनुषाको जनकपुर उपमहानगरपालिका–४ सरंचियाकुट्टीस्थित रामजानकी काठ मिलमा काम गर्ने भारत घर भएका ४५ वर्षीय अरुण ठाकुरको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।

रुपन्देहीको सियारी गाउँपालिका–६ मदनगंज बस्ने ४५ वर्षीय सर्वजीत लोहारको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ । आफ्नै घरको पङ्खा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको क्रिमशन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

बाराको महागढीमाई नगरपालिका–२ ईनर्वा टोल बस्ने ६५ वर्षीय राम अशिष राउत कुर्मीको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलवार १६:३५