२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

कभर्ड हल स्तरोन्नतिमा अनियमितता

२८ असार, बारा । बाराको निजगढ नगरपालिका-८ बजारमा रहेको जिल्ला कभर्ड हल निजगढ तेक्वान्दो डोजाङको संरचना स्तरोन्नतिमा अनियमितता भएको छ । तेक्वान्दो खेलाडीलाई अभ्यास सञ्चालनका लागि कभर्डहल स्तरोन्नति गर्न मधेस प्रदेश सरकारले ३९ लाख दिएको थियो । तर समितिले २० लाख ५६ हजार सात सय ५० रुपैयाँको लागतमा तेक्वान्दो कभर्डहल स्तरोन्नति निर्माण गरिएको बताइएको छ ।

प्याराफिट निर्माणमा २ लाख ८ सय ९९ रुपैयाँ, पार्किङ्ग ट्रस निर्माण ४ लाख ९४ हजार ९ सय ७७ रुपैयाँ, ट्वाइलेट निर्माण ७ लाख ६८ हजार २ सय ७३ रुपैयाँ, कार्पेट ८५ हजार ७ सय ९९ रुपैयाँ, लाईट २२ हजार ५ सय २६ रुपैयाँ, ए.सी १ लाख ३८ हजार, रंग रोगन (पेन्टस) २९ हजार ८ सय ७८ रुपैयाँ, फल सिलिङ ९२ हजार ७ सय ३ रुपैयाँ, प्लम्बिङ ३५ हजार ८ सय ४१ रुपैयाँ र श्रमदान १ लाख ८७ हजार ८ सय ५० रुपैयाँमा निर्माण भएको दाबी गरिएको छ ।

समितिले निर्माण सम्पन्न नगरी प्राविधिक इष्टिमेटबमोजिम निर्माण कार्य सम्पन्न भएको सार्वजनिक सुनुवाइ गरिएको सूचना टाँस गरेसँगै अनियमितता भएका पाइएको हो । २०७८/७९ मा प्रदेश सरकारबाट विनियोजित रकमबाट तेक्वान्दो कभर्डहल स्तरोन्नति उपभोक्ता समितिद्वारा निर्माण नै सम्पन्न नभई निर्माण सम्पन्न भएको सूचना टाँस गरेपछि मात्रै आफूले तेक्वान्दो कभर्डहल स्तरोन्नतिका निम्ति बजेट आएको थाहा पाएको जिल्ला कभर्ड हल निजगढ तेक्वान्दो डोजाङ समितिका एक सदस्यले बताए ।

कभर्ड हलमा दुईवटा ट्वाइलेट निर्माणमा सात लाख ६८ हजार २ सय ७३ रुपैयाँ खर्चमा निर्माण सम्पन्न भएको भनिए पनि ट्वाइलेटको घोराबारा बाहेका केही भएको छैन । प्याराफिट निर्माण दुई लाख ८ सय ९९ रुपैयाँ खर्चमा निर्माण सम्पन्न भएको भनिएको छ । प्याराफिटको नाममा प्लास्टर गरेको मात्र पाइएको छ । ८५ हजार ७ सय ९९ रुपैयाँको कार्पेट त्यहीँ प्लास्टरको आवरणलाई लुकाउन प्रयोग गरेको बताइएको छ ।

‘तेक्वान्दो खोलाडीका निम्ति अभ्यास सञ्चालनका लिगि कभर्डहल निर्माण गरिएको हो । यहाँ धेरै गर्मी छ । ए.सी अभ्यास गर्ने खोलाडीलाई प्राथमिकता हुनुपर्ने हो,’ एक खोलाडीले भने, ‘तर कोठामा लगेर राखेको सुनेको छु ।’ कभर्ड हलमा रंगरोगन भएको कतै देखिँदैन । न कतै फल सिलिङ प्रयोग भएको देखिन्छ । तर रंगरोगन (पेन्टस)मा २९ हजार ८ सय ७८ रुपैयाँ, फल सिलिङमा ९२ हजार ७ सय ३ रुपैयाँ र प्लम्बिङमा ३५ हजार ८ सय ४१ रुपैयाँ खर्च भएको समितिले टाँस गरेको सूचनामा उल्लेख छ ।

तेक्वान्दो कभर्डहल स्तरोन्नति उपभोक्ता समितिका अध्यक्ष प्रेम लामाले मधेस प्रदेशका प्राविधिकको निर्देशनमा हाल काम रोकिएको बताए । ‘हामीले निर्माण सम्पन्न भएको सूचना सार्वजनिक सुनुवाइ गरेकोअनुसारको रकम भक्तानी भएको छ,’ अध्यक्ष लामाले भने, ‘खासमा ३९ लाखको बजेट हो तर पूरा हुन सकेन र हामीसँग समय पनि भएन । असार अन्तिमसम्ममा भुक्तानी लिनुपर्ने थियो र प्रदेशका प्राविधिकले समेत निर्माण नगर्न निर्देशन दिएकाले आधा काम भएको हो ।’

प्रकाशित मिति : २८ असार २०७९, मंगलवार १५:०७