केपी ओलीकाे प्रश्नः सरकार सरले चलाउनुहुन्छ कि म्याडमले ?
२७ असार, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निष्प्राण भइसकेको टिप्पणी गरेका छन् । सोमबार ललितपुरमा सम्पादकहरुसंग छलफल गर्दै अध्यक्ष ओलीले देश र जनताका लागि सरकारले कुनै काम गर्न नसकेको भन्दै वर्तमान परमादेशी सरकारको कुनै अर्थ नै नरहेको र निष्प्राण भइसकेको टिप्पणी गरेका हुन् ।
ओलीले वर्तमान सरकार कसले चलाइरहेको छ भन्ने नै थाहा हुन नसकेको बताए । सरकारलाई जसले चलाए पनि सेटिङ र मुलुकलाई अधोगतिमा लैजानेतर्फ केन्द्रित रहेको र गठबन्धन जोगाउने काम मात्रै भएको उनले बताए ।
उनले भने, ‘सरले चलाउनुहुन्छ कि म्याडमले चलाउनुहुन्छ ? यतापट्टी जान चाहन्न मेरो विषय बनाउन चाहन्न । दिदीले चलाउनुहुन्छ कि भाइले चलाउनुहुन्छ ? भिनाजुले चलाउनुहुन्छ कि सालाले चलाउनुहुन्छ ? प्रधानमन्त्रीले चलाउनुहन्छ कि रियल पावर मै हुँ भन्नेले चलाउनुहुन्छ ? त्यतापट्टी पनि जान चाहन्न । तर जसले चलाए पनि चलाएको त यही हो ।’
मुलुकको अर्थतन्त्रलाई यसरी नै अधोगतिमा जान दिने हो भने कम्तीमा श्रीलंकाको स्थितिमा पुग्ने उनले बताए । उनले गठबन्धन कै कारण जनतामा दलहरुप्रति र सरकारप्रति बितृष्णा जागेको र विश्वास कम हुदै गएको उल्लेख गरे । जसले जे षडयन्त्र गरेपनि आफ्नै पार्टी जोगाउन नसक्नु आफ्नो पनि कमजोरी भएको उनले स्वीकार गरे । एमालेले चाहेको भए वर्तमान सरकारको गठबन्धन धेरै अघि नै टुट्ने भन्दै ओलीले एमालेका लागि गठबन्धन भन्दा मुलुकको सुशासन मुख्य बिषय भएको बताए ।
एमालेले साँचो डिभोर्सका लागि नक्कली बिहे गर्न हतार नगर्ने ओलीको भनाई छ । संवैधानिक परिषद् विधेयकलाई सुटुक्क राष्ट्रियसभामा लाने काम सरकारले गरेको भन्दै उनले यसको औचित्य पुष्टि गर्न चूनौति दिए । ओलीले सर्वोच्चमा मुद्धा हालेको बिषयलाई राष्ट्रियसभामा लगेर सरकारले दुईमुखे चरित्र देखाएको र यो स्वार्थप्रेरित कुरा भएको तर्क गरे ।
प्रकाशित मिति : २७ असार २०७९, सोमबार २१:०७












