जनार्दन शर्माको आर्थिक अपराध छानविन गर्ने संसदीय विशेष समितिले भोलिबाट काम थाल्ने
२७ असार, काठमाडाैँ । आर्थिक अपराधको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न गठित ११ सदस्यीय संसदीय विशेष समितिले मंगलबारबाट काम थाल्ने भएको छ ।
समितिको पहिलो बैठक मंगलबारका लागि बोलाइएको र मंगलबारबाटै काम सुरू हुने एमाले स्थायी कमिटी सदस्य समेत रहेका समितिका सदस्य भानु भक्त ढकालले दैनिकीलाई जानकारी दिए । समितिको म्याद भोलिदेखि १० दिनको हुनेछ । समितिले बजेटका बिबिध विषयमा छानविन गरेर सभामुखलाई प्रतिवेदन पेश गर्नेछ ।
समितिको बैठक मंगलबार ११ बजेका लागि बोलाइएको छ । असार २२ गते बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले निवर्तमान अर्थमन्त्री शर्माले गरेका अार्थिक अपराधको विषयमा छानविन गर्न सर्वदलीय सहमतिमा संसदीय विशेष समितिको घोषणा गरेका थिए ।
अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएर राजस्वको दर हेरफेर गराएर अार्थिक अपराध गरेको भन्दै नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । संसदीय विशेष समितिमा सांसदहरु प्रदीप ज्ञवाली, देव गुरुङ, खगराज अधिकारी, भानु भक्त ढकाल, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, विमला बिक, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।
सहमति अनुसार ११ सदस्यी मितिमा एमालेबाट ४ जना, कांग्रेस र माओवादीबाट २/२ र गरी ४ जना र एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका १/१ जना सदस्य रहेका छन । समितिको संयोजक समितिले नै तोक्ने छ भने समितिले १० दिनमा आफ्नो प्रतिवेदन सभामुखलाइ पेश गर्नेछ ।
प्रकाशित मिति : २७ असार २०७९, सोमबार १०:३५












