३ चैत्र २०८२, मंगलवार | Wed Mar 18 2026

तीन तहको ब्रोकर इजाजत पत्र वितरण गर्ने काम चाँडै सुरू गर्न सेयर लगानीकर्ता संघको माग

२३ असार, काठमाडाैँ । सेयर लगानीकर्ताहरूको तीन वटा संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै तीन तहको ब्रोकर इजाजत पत्र वितरण गर्ने काम चाँडै सुरू गर्न माग गरेको छ । नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल र नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोख्रेलले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै तीन तहको ब्रोकर इजाजत पत्र वितरण गर्ने काम चाँडै सुरू गर्न माग गरेका हुन ।

सेयर लगानीकर्ताको संयुक्त विज्ञप्ति यस्तो छ

हामी लगानीकर्ताहरूले विगत लामो समयदेखि नेपालको शेयरबजारको विकास र विस्तारको महत्वपूर्ण कारकको रूपमा रहेको बैंक तथा वित्तीय संस्था वा बैंकको सहायक कम्पनीहरूलाई ब्रोकर लाईसेन्स, प्राकृतिक व्यक्ति वा संस्थालाई FREE ENTRY/FREE EXIT को माध्यमबाट ब्रोकर इजाजत पत्र वितरण गर्नुपर्ने हाम्रो मागलाई सम्बोधन गर्दै नेपाल धितोपत्र बोर्डले “घितोपत्र व्यवसायी नियमावली २०६४ मा संशोधन गर्ने मस्यौदालाई स्वीकृत गर्ने निर्णय गरेकोमा हामी लगानीकर्ताका आधिकारिक संघ संगठनहरू मार्फत लगानीकर्ताहरूको तर्फबाट अध्यक्ष श्री रमेश कुमार हमालज्यू लगायत सम्पूर्ण नेपाल धितोपत्र बोर्ड परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

पूँजीबजारको विकास र विस्तारमा नेपाल धितोपत्र बोर्डबाट भएको उक्त धितोपत्र व्यवसायी नियमावली २०६४ को संशोधन प्रस्ताव अत्यन्त सराहनीय र प्रशंसनीय छ । उक्त बुँदा कार्यान्वयनमा आएपछि पुँजीबजारको विकास र विस्तारमा कोशेढुङ्गा सावित हुनेछ । पूँजीबजारको क्षेत्रमा समयानुकुल विकास र विस्तारको लागि तीन तहको ब्रोकर इजाजत पत्र वितरण गर्ने कार्यको यथासिघ्र कार्यान्वयन गर्नको लागि नेपाल धितोपत्र बोर्ड मार्फत अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष जोडदार माग गर्दछौं ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार १२:५९