गिरिजाबाबु कहिल्यै नथाक्ने मिलनसार नेताः प्रधानमन्त्री देउवा
२१ असार, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजाबाबु कहिल्यै नथाक्ने नेता मात्र होइन मिलनसार पनि रहेको बताएका छन । नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा उनले भने “कठिन राजनीतिक आरोह, अवरोह पार गर्नुभएका कोइरालाले नेपालमा लोकतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको छ, उहाँ युगपुरुष र शिखरपुरुष हुनुहुन्छ ।”
प्रधानमन्त्री देउवाले गिरिजाबाबुले मजदूर आन्दोलन सुरु गर्नुभएको विराटनगरस्थित जुटमिलमा ऐतिहासिक सङ्ग्रहालय बनाउन सरकार सकारात्मक रहेको बताए । उनले हतियार उठाएर सशस्त्र विद्रोह सुरु गरेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाबाबुको ठूलो योगदान रहेको स्मरण गरे ।
“गिरिजाबाबुले अगाडि सार्नुभएको सहमति, सहकार्य, एकता आजको दिनमा पनि उत्तिकै सान्दर्भिक छ”, उनले भने । म जे बोल्छु, त्यही गर्छु भन्ने गिरिजाबाबुको अडान भएको प्रधानमन्त्री देउवाले उल्लेख गरे ।
कांग्रेस उपसभापति धनराज गुरुङले मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले संविधानको रक्षाका लागि आजका दिनमा गठबन्धनलाई सही ढङ्गले अगाडि बढाउनुपर्ने उल्लेख गरे । उपसभापति गुरुङले स्वर्गीय कोइराला कुशल सङ्गठनकर्ता भएको बताए ।
कांग्रेस नेत्री सुजाता कोइरालाले श्रमिकको दुःख बुझ्ने नेता गिरिजाबाबु भएको बताइन । नेत्री कोइरालाले गिरिजाबाबुले मजदूर आन्दोलन सुरु गर्नुभएको विराटनगरस्थित जुटमिलभित्रका ऐतिहासिक सामग्रीलाई सङ्ग्राहलय स्थापना गरी संरक्षण गर्नुपर्नेमा जोड दिइन ।
विसं २०४७ मा स्थापना भएको ट्रेड युनियन कांग्रेसमा हाल २७ सङ्घ आवद्ध रहेको ट्रेड युनियनका उपाध्यक्ष अजयकुमार राईले जानकारी दिए । ट्रेड युनियन कांग्रेसमा हाल चार लाख श्रमिक आवद्ध छन् ।
प्रकाशित मिति : २१ असार २०७९, मंगलवार १२:५०












