१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

सुशासन व्यवहारमा कार्यान्वयन गर्न सरकार अग्रसर छ : मन्त्री कार्की


१९ असार, काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुशासनलाई व्यवहारमा लागू गराउन सरकार अग्रसर रहेको बताएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले आज यहाँ आयोजना गरेको ‘सरकारप्रतिको जनविश्वास : केही विवेचना’ विषयक कार्यक्रममा उहाँले नेपाललाई कम भ्रष्टाचार हुने देशका रुपमा स्थापित गराउन सरकार लागि परेको जानकारी गराए ।

“दण्ड र पुरस्कारलाई साथ साथ नलगे समाज अनुशासित हुँदैन, सरकारलाई पारदर्शी र जवाफदेही बनाउन सबैले आफ्ना स्थानबाट घच्घच्याउनुपर्छ, स्थानीय र प्रदेश सरकारलाई पनि जवाफदेही बनाउन लाग्ने दायित्व नागरिक समाजको हो”,उनले भने। स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गरेको सरकारले प्रदेश र केन्द्रीय निर्वाचन पनि संविधानले तोकेकै समयमा सम्पन्न गर्ने मन्त्री कार्कीको प्रतिबद्धता थियो । अर्थतन्त्रमा चुनौती आए पनि सङ्कट भने नरहेको सरकारका प्रवक्ता रहनुभएका उनले सुनाए ।

काठमाडौँ महानगरपालिकाका पूर्वउपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले छोराछोरी पढाउन र स्वास्थ्य सुविधामा भएको महँगीका कारण भ्रष्टाचार बढेकाले दुवैले सरकारले व्यवस्थित गर्नुपर्ने भनाइ राख्नुभयो । त्यसको सुरुवात आफूले उपप्रमुख भएका बेला महानगरपालिकाबाट सुरु गरेको उहाँले जानकारी गराउनुभयो । पूर्वमुख्यसचिव डा बिमल कोइरालाले संसारभर निर्वाचित सरकार अधिनायकवादतर्फ अग्रसर भएको उल्लेख गर्नुहुँदै यसले सरकारप्रतिको विश्वसनियतामा कमी आएको बताउनुभयो । विधिको असमान प्रयोगले जनतामा निराशा बढेको उहाँको विचार थियो ।

कार्यक्रममा पूर्वसचिव भरत थापा, पूर्वनायब महालेखापरीक्षक रामबाबु नेपाल, पूर्वकर्मचारी सेवा परिषद्का अध्यक्ष बालकृष्ण प्रसाईं, टिआई नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्ग, उपाध्यक्ष बुद्धिनारायण श्रेष्ठलगायतले सरकारप्रतिको विश्वसनीयता कम हुँदै गएकाले यसप्रति बेलैमा ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो ।

प्रकाशित मिति : १९ असार २०७९, आईतवार १९:०४