एमाले सचिवालय बैठक आज, यस्ता छन छलफलका कार्यसूची
१९ असार, काठमाडाैँ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेपछि केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बस्दैछ । बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, बैचारिक-राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
शनिबार महासचिव शंकर पोखरेलको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कार्यालयको बैठकले एजेण्डा तय गरेको हो । एमालेमा पार्टीको केन्द्रीय कार्यालय सञ्चालन, सचिवालय बैठकका एजेण्डा तयार गर्ने लगायत कामका लागि महासचिवको नेतृत्वमा तीन उपमहासचिव, सात सचिव र कार्यालय सचिव गरी १२ जनाको केन्द्रीय कार्यालय रहेको छ ।
शनिबारको बैठकमा महासचिव पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ र कार्यालय सचिव डा. भीष्म अधिकारी उपस्थित रहेका थिए ।
प्रकाशित मिति : १९ असार २०७९, आईतवार ०८:२०












